दैलेख (महाबु) । दैलेखको महाबु गाउँपालिकाको १४ औं अधिवेशन सम्पन्न भएको छ । बुधबार गाउँपालिकाको सभाहलमा अधिवेशन आयोजना गरिएको थियो ।
गाउँपालिकाले संघ संस्था दर्ता तथा नियमन सम्बन्धि विधेयक सभामा पेश गरेको छ । साथै, विनियोजन ऐन संशोधनका लागि समेत प्रस्ताव गरिएको छ । गाउँपालिकाका सुशासन तथा संस्थागत विकास समितिका संयोजक रेशम बहादुर थापाले मगरले विधेयकहरु सभामा प्रस्ताव गरेका हुन् ।
गाउँसभामा वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक कुमार नेपाली, आर्थिक विकास समितिका संयोजक सर्वराज सार्की, सामाजिक विकास समितिका संयोजक प्रकाश राज थापा, पूर्वाधार विकास समितिका संयोजक राम बहादुर शाही र सुशासन तथा संस्थागत विकास समितिका संयोजक रेशम बहादुर थापा मगरले गाउँ कार्यपालिकाका विषयगत समितिहरुका तर्फबाट चालु आर्थिक वर्षमा भए गरेका कामकाजको प्रतिवेदन समाभा पेश गरेका थिए ।
साथै, महाबु गाउँपालिकाको वडास्तरमा नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नीति कार्यान्वयनका सहयोग गर्ने कुमारी बैंक गैडाबाज शाखा र गैडाबाज प्रहरी चौकीलाई प्रशंसा पत्रले सम्मान गरिएको छ ।
महाबु गाउँपालिका विभिन्न शाखा, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।
सभाको अध्यक्षता कार्यवाहक अध्यक्ष मन्जुकुमारी शर्मा (पाण्डे)ले गरेकी थिईन् । सभामा उठेका प्रश्न तथा जिज्ञासाप्रति अध्यक्ष शर्माले जवाफ दिएकी थिईन् ।
पुँजीगत खर्च सात प्रतिशत
महाबु गाउँपालिकाकाे चाैधाैं अधिवेसनसम्म पूँजीगत खर्च ७.०८ प्रतिशत अर्थात १ करोड ६ लाख २६ हजार रुपैँया खर्च भएको बताइएको छ । चालु आर्थिक वर्षमा १५ करोड ९ सय रुपैँया विनियोजन गरिएको थियो ।
चालु खर्चतर्फ २५.७४ अर्थात सात करोड ८० लाख ५० हजार रुपैँया खर्च गरिएको छ । ३० करोड ३२ लाख ६० हजार रुपैँया व्यय अनुमान गरिएको थियो ।
यसैगरी, प्रकोप व्यवस्थापन कोषतर्फ आठ लाख ९३ हजार रुपैयाँ र मर्मत सम्भार कोषमा पाँच लाख ५५ हजार रुपैँया खर्च भएको जनाइएको छ ।
गाउँपालिकाको चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये ३७.१८ प्रतिशत संचित कोषमा प्राप्त भएको जनाइएको छ । कुल ४५ करोड ३० लाख ८३ हजार रुपैँया अनुमान गरिएको थियो । त्यसमध्ये आय तर्फ १६ करोड ८५ लाख २६ हजार संचित कोषमा प्राप्त भएको जनाइएको छ ।