दैलेख (महाबु) । दैलेखको महाबु गाउँपालिकाले समुदायस्तरमै पुगेर योजना सम्झौता गरेको छ । गाउँपालिका कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/८१ मा कार्यान्वयन हुने योजनाको समुदायस्तरमै सम्झौता गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायका अनुसार ६८ ओटा विकास योजनाको गाउँ कार्यपालिका कार्यालय र उपभोक्ता समितिबीच सम्झौता भएको छ । गाउँपालिकाको वडा नं. १ मा सात, वडा नं. २ मा ११, वडा नं. ३ मा १६, वडा नं. ४ मा ११, वडा नं. ५ मा सात र वडा नं. ६ मा १६ ओटा योजनाको सम्झौता गरिएको हो ।
योजना सम्झौताका लागि गाउँपालिकाको टोलीले शिविर सञ्चालन गरेको थियो । टोलीले योजना सम्झौता, सञ्चालन र भुक्तानी सम्बन्धी उपभोक्ता समितिहरुलाई अभिमूखीकरण समेत गराएको थियो ।
गाउँपालिकाले चालु आर्थिक वर्षका लागि नौं ओटा योजनाको ठेक्का प्रक्रियाबाट काम सुचारु गरेको छ ।
स्वास्थ्यतर्फ बाँसी स्वास्थ्य चौकी भवन निर्माण, टाकुरी स्वास्थ्य इकाई भवन निर्माण, सडक पूर्वाधारतर्फ गैडाबाज फागु काँसिकाँध सडक स्तरोन्नती, बालीसरा बडाखोला कार्यालय मान्मदेखि पालिका जोड्ने सडक निर्माण, कुटीडाँडा सिमलडाँडा एकपाटे लामिडाँडा उत्तीसेनी कासिकाँध रोड निर्माण र भगवती माध्यामिक विद्यालय भवन निर्माणका लागि ठेक्का प्रक्रियाबाट काम भएको छ ।
गाउँपालिकाले नागरिकको सहजताका लागि समुदायमा शिविर मार्फत योजना सम्झौता गरिएको कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मा (पाण्डे)ले बताईन् । उनका अनुसार वडाबाट गाउँपालिकासम्म उपभोक्ताहरुले पाउने यात्राका असहजतालाई कम गर्न यसरी काम गरिएको हो ।
‘कतिपय टाढाका गाउँहरुबाट कार्यालय पुग्न धेरै समय लाग्छ । कुनै एउटा कागज अपुग भएमा उपभोक्ताले दुःख भोग्नुपरेको अवस्थालाई मध्यनजर गरी समुदायमै हामी पुगेर सम्झौता गरेका हौं ।’ उनले भनिन्, ‘समुदायमा पनि उपभोक्ता समितिको गठन प्रक्रियाको पारदर्शीता, योजनाको सार्वजनिक सुनुवाई, अभिमुखिकरण जस्ता कामहरु शिविर मार्फत नै सञ्चालन भएका छन् । यसबाट सुशासनमा सुधार आउने विश्वास लिइएको छ ।’
उनका अनुसार योजनाको उद्देश्य, काम गर्ने प्रक्रिया, नागरिक र उपभोक्ता समितिको जिम्मेवारी र दायित्वका बारेमा समेत अभिमुखीकरण गराईएको छ ।