सुर्खेत । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालको पहाडी क्षेत्रमा हवाई उडान सञ्चालनको कार्यतालिकालाई खुकुलो बनाएको छ । प्राधिकरणले छोटो उडान र अवतरण (सर्ट टेक अफ एण्ड ल्याण्डिङ ‘एसटिओएल’ विमानस्थलमा अतिरिक्त समय उडान सञ्चालनका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।
यसअघि विमानस्थल तालिका बमोजिम बाहेक अतिरिक्त समयमा उडान अनुमति नदिने निर्णयमा प्राधिकरणले कडाई गरेको थियो । त्यसको कर्णाली प्रदेशबाट विरोध भएपछि प्राधिकरणको बिहिबारको बैठकले अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।
त्यसका लागि केही शर्तहरु समेत राखिएको छ । अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको ‘भिएमसी मिनिमा’ कायम भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणा पश्चात मात्र उडान अनुमति प्रदान गरिने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जनाए । साथै, प्रत्येक उडानमा ‘भिएमसी’को सुनिश्चितता पश्चात ‘पिआईसी’ सम्पूर्ण रुपमा सन्तुष्ट हुनुपर्ने बताइएको छ ।
उडान अनुमति लिनुपूर्व भिएसमी मिनिमा भन्नाले मौसम पूर्वानुमान महाशाखाले तयार पारेको मौसमी विवरण हो । सुर्खेत विमानस्थल कार्यालयका प्रमुख राजनराज ढुङ्गेलका अनुसार विमानको तौल क्षमता र त्यसअनुसारको तौल, उपकरणको चेकजाँच, अनुकुल मौसम विवरण लगायतका विषयलाई ध्यानमा राखी डिस्प्याचरले र प्रमुख चालकको लिखित घोषणापछि मात्रै उडान अनुमति पाइने छ । यसअघि लिखित घोषणा नभएरै उडान भर्ने गरेका थिए ।
साथै, प्राधिकरणले नेपालगञ्ज विमानस्थलबाट ‘एसटिओएल’ विमानस्थलहरुको सञ्चालन समय पुनरावलोकन गर्ने तथा मौसमी बाटो (इनरुट वेदर)को उपलब्धता बारे अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशकको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरिएको प्राधिकरणले जनाएको छ ।