नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २८ औं स्मृति दिवस आज मनाइँदै छ । दिवसको अवसरमा भोभाभगवतीमा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।
नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि तत्कालीन राजाले कू गरेपछि प्रजातन्त्र पुनर्स्थापनाका लागि नेतृत्व गरेको र जनतालाई अधिकार सम्पन्न बनाउन राजासँग सम्झौता नगरेको नेताका रुपमा गणेशमान सिंहलाई सम्झने गरिन्छ ।
१९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रुपमा सक्रिय रहेका सिंहले ०४६ सालको जनआन्दोलन पछि प्रधानमन्त्री बन्न आएको अफर पनि अस्वीकार गरेका थिए ।
१९७२ साल कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो ।
काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।