अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते भएको विरोध आन्दोलन युवा पुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्व भएको बताएकी छन् ।
संविधानको मर्म र भावना बमोजिम सुशासन, समृद्धि र विकासको क्षेत्रमा भएका कमीकमजोरी र त्यसबाट सिर्जित असन्तोष, अभाव वा अपेक्षा पूरा नभएको कारणले पनि युवा आन्दोलनको जन्म भएको उनको ठहर छ ।
आज संविधान दिवस मूल समारोहलाई सम्वोधन गर्दै उनले सो धारणा राखेकी हुन् । ‘यस आन्दोलनलाई मैले हाम्रो लोकतान्त्रिक प्रणालीको स्वास्थ्यसँग पनि जोडेर हेर्ने गरेको छु । किनभने लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान गर्ने प्रणाली हो,’ उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले युवा आन्दोलनका एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा बमोजिम काम गर्न सरकार प्रतिबद्ध रहेको पनि बताइन् ।