सुर्खेत । नागरिक उड्डयन प्राधिकरणले विमानस्थल तालिका अर्थात ‘अपरेसन आवर’ बमोजिम हवाई सेवा सञ्चालन गर्ने निर्णयलाई कडाई गरेको छ । यसअघि विमानस्थल तालिकाबाहेक अतिरिक्त उडान हुने गरेपनि अब यसो गर्न नहुने भन्दै कडाई गरेको हो । तर, यो निर्णय विरुद्ध भने कर्णालीमा विरोध भईरहेको छ ।
कर्णालीमा पाँच वटा विमानस्थल अहिले सुचारु अवस्थामा छन् । तीमध्ये, सिमकोट, रारा र डोल्पा विमानस्थलहरुको मध्यान्हपछि उडान तालिका छैन । प्राधिकरणले निर्णयमा कडाई गर्नुपूर्व यी विमानस्थलमा मौषम अनुकुल हुँदा उडान हुने गरेका थिए । तर, ती सबै उडान जोखिमपूर्ण भएको विमानस्थल अधिकारीको भनाई छ ।
विमानस्थल तालिका निर्धारण गर्न सुरक्षा व्यवस्थापन प्रणाली (सेफ्टी म्यानेजमेन्ट सिस्टम) लागू छ । जसमा हुनसक्ने सम्भावित जोखिम, बेला बखत भईरहने जोखिम, सुरक्षाका उपाय लगायतका विषयको पहिचान गरी त्यसको समाधानका उपाय निर्धारण गरिन्छ । उक्त प्रणालीमा विमानस्थल तालिका बमोजिम उडान हुने निर्णयलाई कडाईका साथ कार्यान्वयन गर्नुपरेको सुर्खेतस्थित विमानस्थल कार्यालय प्रमुख राजनराज ढुङ्गेलले बताए । उनका अनुसार कर्णालीका विभिन्न जिल्लामा सुरक्षा उपकरण प्रयोग गरी निर्धारित समयमै उडान हुनुपर्ने औल्याइएको छ ।
कर्णालीमा हुने उडानमा हावाको गति बढ्नु, बादल बाक्लिनु, मौसम खराबी हुनु र बढी हल्लिनु (टरबुलेनस) हुनुको कारण उडान जोखिम मानिएको छ । मनसुन समय अर्थात जुलाईदेखि सेप्टेम्वर महिनासम्म उक्त जोखिम बढी हुने भएकाले निर्णयमा कडाई हुन बाध्य भएको ढुंङ्गेलले बताए ।
यस अघिल्ला वर्षहरुमा किन यस्तो भएन भन्ने जिज्ञासामा अहिले भएका विभिन्न हवाई दुर्घटनाको कारण तालिका कार्यान्वयनमा फितलो हुनु बुझिएपछि यस वर्षदेखि कडाई गरिएको ढुंङ्गेलले बताए ।
सांसदद्वारा प्राधिकरणको निर्णयको विरोध
आन्तरिक तर्फ उडान क्षेत्रमा भएको कार्यतालिकाको निर्णयले हुम्लाबासी पीडामा भएको प्रदेश सभा सदस्य विजया बुढाले बताईन् । प्राधिकरणको यो निर्णय खारेजीका लागि प्रदेश सरकारले पहल गर्नुपर्ने माग गरिन् । उनले प्राधिकरणको उक्त निर्णय घोरआपत्तिजनक भएको बताईन् ।
साउन महिनामात्र जिल्ला अस्पतालले प्रेषण (रिफर) गरेका चार जना बालिकाले मृत्युवरण गर्नुपरेको सांसद बुढाले जानकारी दिईन् । हवाई सेवा सञ्चालन नहुनु त्यसको कारण भएको उनको बुझाई छ ।
स्थलमार्गको सहज पँहुच नभएको हुम्लाका लागि आवत–जावतको सजिलो माध्यमका रुपमा हवाई सेवालाई लिने गरिएको छ । हुम्लामा सुर्खेतदेखि हवाई उडान हुने गरेको छ । त्यसका लागि सीता एयरले नियमित तालिका पाएको छ भने समीट र तारा एयरले कार्गो चाटर्डका रुपमा उडान भर्ने गरेका छन् ।
‘विरामीहरुले जिल्लाबाहिर उपचार गर्न नपाउने अवस्था छ । खाद्यन्न ढुवानीमा समेत समस्या भएको छ ।’ उनले भनिन् ।
पैदलमार्गबाट खाद्यन्न ढुवानी गर्दा भदौं १ गते वितरण हुने चामल समेत प्रभावित बनेको सांसद बुढाले बताईन् ।
आईतबार सञ्चालन भएको मानसरोवर बहुमुखी क्याम्पसको परीक्षा प्रभावित भएको थियो । प्रश्नपत्रको फाईल नपुगेपछि इमेलमार्फत प्रश्नपत्र पु¥याईएको थियो । सिमकोटमा दैनिक उपभोग्य समाग्रीको अभाव लगायतका समस्या भोग्नुपरेको बताईन् ।
प्राधिकरणले कर्णालीका लागि अहित हुने निर्णय गरेको कर्णालीको प्रमुख प्रतिपक्षी दलका नेता यामलाल कँडेलले बताए । सोमबारको संसद बैठकमा बोल्दै उनले मौसम अनुकुल
भएको अवस्थामा हवाई सेवा सञ्चालन गर्नुपर्ने ठाउँमा प्राधिकरणले कर्णाली प्रदेशलाई थप दुःख र यातना दिने निर्णय भएको बताए ।
उनले हवाई सेवाका विषयमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री राजकुमार शर्माले समस्या समाधानको योजना सहित संसदलाई जवाफ दिनुपर्ने माग गरेका छन् ।