सुर्खेत । इनर ह्वइल क्लब अफ सुर्खेतले जिल्ला कारागार सुर्खेतमा रहेका महिला कैदिबन्दीहरूसँग ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएकाे छ । महिला कैदी, बन्दीलाई लक्षित गरी ‘उत्प्रेरणात्मक कार्यक्रम’ गरिएको क्लबका अध्यक्ष लक्ष्मी कार्की प्रधानले जानकारी दिइन्।
उक्त ‘उत्प्रेरणात्मक कार्यक्रम’मा कर्णालीका आमाहरुको कथा ‘शून्यको मुल्य’ पुस्तकका लेखक डा. नवराज केसीले प्रशिक्षण दिएका थिए।
विभिन्न तरिकाले देशभर महिला दिवस मनाएता पनि जानी नजानी सजाएका भागीदार रहेका कारागारका बन्दी महिलाहरूलाई लक्षित गरी आफूहरूले उक्त प्रशिक्षण दिइएको अध्यक्ष कार्कीको भनाइ छ।
‘उत्प्रेरणत्मक कार्यक्रम’ले कैदीबन्दी महिलाहरूमा भएको निराशालाई हटाउने आयोजकको विश्वास छ । कारागारका बन्दी महिलाहरूलाई कारागारबाट बाहिर आइसकेपछि पनि सहजरूपमा जीवनयापन गर्नका लागि सघाउ पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा बोल्दै कर्णाली प्रदेश शिक्षा निर्देशक दिपा हमालले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि शैक्षिक तथा जनचेतनामूलक कार्यक्रमलाई अझै प्रभावकारी ढङ्गले अघि बढाउन जरुरी रहेको बताइन्।
कैदीबन्दी महिलाहरूका लागी निर्देशनालयको तर्फबाट सिप मुलक पालिम समेत सञ्चालन गर्ने प्रतिवद्धता समेत जनाईन् । उनले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि संघ, प्रदेश र स्थानीय सरकारले मिलेर अभियान नै सञ्चालन गर्नुर्नेमा जोड दिइन् ।
त्यस्तै कार्यक्रमका प्रशिक्षक डा.नवराज केसीले महिलाहरु प्राकृतिक रुपमै शक्तिशाली भएको बताए । जन्मजात महिलाहरु शक्तिशाली भएपनि हाम्रो सामाजिक संरचनाले कम्जोर बनाएको उनको तर्क थियो ।
‘प्रकृतिले पुरुष भन्दा महिला प्रजातिलाई कयौं गुणा शक्तिशाली बनाएको बैज्ञानिक तथ्य छ । तपाईहरु आफैमा शक्ति हो । समाजले तिरस्कार गर्न खोज्छ, लाल्छाना लगाउँछ । तर त्यो विचमा पनि एक्लै लड्ने सहास तपाईहरुले जुटाउँनु पर्छ,’ डाक्टर केसीले भने । जिल्ला कारागार सुर्खेताका जेलर लक्ष्मि खरेका अनुसार कारागारमा ४३ जना बन्दी महिलाहरू रहेका छन् ।