सुर्खेत। कर्णाली प्रदेशका ‘प्राइमरी’ अस्पतालहरुमध्ये जिल्ला अस्पताल दैलेख उत्कृष्ट छनोट भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको न्युनतम सेवा मापदण्ड मुल्यांकनको आधारमा दैलेख अस्पताल उत्कृष्ट बनेको हो।
कर्णालीका १० जिल्लामध्ये प्रदेश अस्पताल सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला बाहेकका अन्य ८ जिल्लाका जिल्ला अस्पतालहरुको मुल्यांकन गरिएको थियो। सो मुल्यांकनमा दैलेख जिल्ला अस्पतालले ७९ प्रतिसत नम्बर प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो।
भौतिक संरचना जीर्ण अवस्थामा भएपनि प्राप्त भौतिक स्रोत, साधनको व्यवस्थापन र सेवा प्रवाहका आधारमा अस्पताल उत्कृष्ट छनोट भएकोप्रति जिल्ला अस्पताल दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले खुशी व्यक्त गरे।
‘अस्पतालको सर्वांगीण विकासका निम्ति सबैको सहयोग चाहिन्छ। फलस्वरुप जिल्ला अस्पतालहरुमध्ये उत्कृष्टमा पर्न सकेका छौं’ रेग्मीले भने, ‘अझै चाहे अनुसारको गुणस्तरीय सेवा दिन नसकिरहेको अनुभुति भैरहेको छ। भौतिक संरचना, जनशक्ति र उपकरण अभावको समस्या उस्तै छ।’
जिल्ला अस्पताल दैलेखमा विभिन्न पदका ६१ दरबन्दी रहेका छन्। तीमध्ये २२ दरबन्दी पदपुर्ती भएका छन् । योसँगै अस्पताल व्यवस्थापन समितिका तर्फबाट १९ करार दरबन्दीद्वारा सेवा प्रवाह भैरहेको छ।