सुर्खेत । कर्णाली प्रदेश सरकारकाले सिमाना तोकेर सडक स्तरोन्नती गर्ने भएको छ । व्यक्तिको नामै तोकेरै योजना वितरण गर्ने थितिका रुपमा कर्णालीको बजेट तथा कार्यक्रम आउने गरेको छ । आगामी आर्थिक वर्षका लागि पनि ल्याइएकाे बजेटमा निरन्तरता भईरहेको छ । बढिजसो वीरेन्द्रनगरका समावेश गरिनुपर्ने योजनाहरुमा नाम किटान हुने गरेको छ।
योजना बनाउँदा दिर्घकालीन सोच नराखी निश्चित व्यक्तिका लागि वितरण गरिएजस्तो बजेट तथा कार्यक्रम आउँदा प्रदेश सरकारको योजना निर्माण प्रकृयामा आशंका गर्न सकिन्छ । रातो किताबमै निश्चित सिमा निर्धारण गरी आउने यस किसिमको बजेटबाट आफ्ना कार्यकर्ताकै लागि दिइएको योजना हो भन्ने पुष्टी हुने जानकारहरु बताउछन् ।
प्रदेश सरकारले वीरेन्द्रनगरमा पदम नेपालको सिमानादेखि अधिकारीको सिमानासम्म अल्फारोड स्तरोन्नती शिर्षकमा ३५ लाख बजेट विनियोजन गरेको छ ।
टोपेन्द्र शाहीको घरदेखि पूर्णबहादुर शाहीको घरसम्म सडक स्तरोन्नती गर्न २५ लाख, गिती योगीको घर हुँदै मनो पुरीको घरसम्म पक्की नाला बनाउन १५ लाख, डा. नवराज केसीको तारबार हुँदै हरि न्यौपानेको घर जाने सडक नाला बनाउन १० लाख विनियोजन गरेको छ ।
यस्तै, बुदबुदे ड्रागन फर्मबाट हरिजंग शाहको घरसम्म १५ लाख र महेन्द्र मल्लको घरदेखि पूर्ण विसीको घर हुँदै तल्लो सडक जोड्ने बाटो स्तरोन्नती गर्न १५ लाख विनियोजन गरिएको छ ।
चना कटेजमा डिपबोरिङ गर्न १० लाख
प्रदेश सरकारले वित्तीय हस्तान्तरण अर्न्तगत वीरेन्द्रनगर नगरपालिकामा डिपबोरिङका लागि बजेट वितरण गरेको छ । वीरेन्द्रनगरको खानेपानी समस्याको दिर्घकालीन समस्या समाधान गर्नका लागि महत्वकांक्षी योजनाका रुपमा भेरी लिफ्टिङ खानेपानी आयोजनाको काम भईरहेपनि प्रदेश सरकारले डिपबोरिङका लागि भने बजेट वितरण गरेको छ । डिपबोरिङका योजना मध्ये वीरेन्द्रनगरको चना कटेजमा डिपबोरिङ गर्न १० लाख रुपैँया विनियोजन गरेको छ ।
रामनगर डिपबोरिङ गर्न १५ लाख, चाँदनी चोक डिपबोरिङ १२ लाख, एकतानगर डिपबोरिङ १५ लाख, शहिद स्मृति टोल डिपबोरिङ १५ लाख, खनाल चोक डिपबोरिङ १२ लाख, बुलबुले डिपबोरिङ आठ लाख, हरियाली टोल विकास डिपबोरिङ १२ लाख, आपखोली दलित बस्ती डिपबोरिङ १५ लाख, वातावरण सहकारीको पूर्वी गेट नजिक डिपबोरिङ १० लाख, सोती टोल डिपबोरिङ १५ लाख, चाँदनी टोल डिपबोरिङ १५ लाख विनियोजन गरिएको छ ।