काठमाडौं । नेपाल भारतसँग १३२ रनले पराजित भएको छ। आइसीसी यु-१९ विश्वकपमा नेपाल १६५ रनमै अलआउट भएपछि भारत विजयी बनेको हो।
नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ३३ रन बनाए। त्यस्तै ओपनर दीपक बोहोराले २२ र अर्जुन कुमालले २६ रन बनाए। त्यस्तै विशाल विक्रम केसी र गुल्शन झा एक-एक रन बनाउँदा दीपक डुम्रे र दीपेश कँडेल शून्यमै पेभेलियन फर्किएका थिए। त्यस्तै सुवास भण्डारी ५ रन बनाउँदा दुर्गेश गुप्ता २९ र आकाश चन्द १८ रनमा अविजित रहे। भारतका लागि साउमी पाण्डेले ४ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाएर २९७ रन बनाएको थियो।
भारतका लागि कप्तान उदय सहरन र सचिन धासले शतकीय इनिङ खेलेका थिए। उदय १०० र सचिन ११६ रन बनाएर पेभेलियन फर्किएका थिए। त्यस्तै आदर्श सिंहले २१, अर्शिन कुलकर्नीले १८ र प्रियंशु मोलियाले १९ रन बनाए। मुसिर खान ९ रनमा अविजित रहे।
फितलो फिल्डिङ गरेको नेपालका लागि गुल्शन झाले ३ विकेट लिए भने आकाश चन्दले एक विकेट लिए। नेपालले सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।