काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका र आसपासका जिल्लामा पनि हल्का वर्षा भएको छ । लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका जिल्लाहरुमा भने वर्षासँगै हिमपात पनि भएको छ ।
पश्चिमी वायुको अहिलेको प्रणाली पूर्वतिर सर्दै जाने क्रममा काठमाडौंमा पनि छिटपुट वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी पार्ने बादल पश्चिमबाट पूर्वतिर सर्ने क्रममा छ । त्यसैले पश्चिमतिर मौसममा सुधार भइसकेको छ । काठमाडौंको वर्षा पनि केही घण्टामै रोकिने महाशाखाले जनाएको छ ।
कहाँ कस्तो वर्षा ?
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार पश्चिम नेपालमा प्रक्षेपण गरेअनुसारकै हिमपात र वर्षा भएको छ । महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसमी बुलेटिनमा पश्चिम नेपालका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने उल्लेख थियो ।
महाशाखाका मौसमविद गोविन्द झाका अनुसार सबैभन्दा धेरै डडेलधुरामा ३२।८ मिलिमिटर वर्षा भएको छ । यसैगरी कालिकोटतिर ३२ मिलिमिटर, दैलेखतिर १५ देखि २० मिलिमिटरसम्म वर्षा भएको महाशाखाको रेकर्ड छ ।
‘१० मिलिमिटर भन्दा बढी र ५० मिलिमिटरभन्दा कम वर्षालाई मध्यम वर्षा भनिन्छ, यस अनुसार पश्चिम नेपालका अधिकांश पहाडी भूभागमा मध्यम वर्षा भएको छ,’ मौसमविद झाले भने । पहाडी क्षेत्रको तुलनामा पश्चिमकै तराई क्षेत्रमा भने कम पानी परेको छ । उदाहरणका लागि बाँकेको नेपालगञ्ज १ मिलिमिटर मात्र वर्षा भएको छ ।
काठमाडौंको अवस्था कस्तो ?
आज अपराह्नदेखि काठमाडौं उपत्यकामा पनि पानी परेको छ । यसअघि मौसमविदले काठमाडौंमा पानी पर्ने सम्भावना कम रहेको जनाएका थिए । परिहालेछ भने पनि फाट्टफुट्ट मात्र पर्ने उनीहरुको भनाइ थियो । मौसमविद झाका अनुसार काठमाडौंमा अपराह्नदेखि फाट्टफुट्ट मात्र वर्षा भएको छ । उपत्यकाभित्रका जिल्लाहरुमा एकनासको वर्षा भने छैन ।
काठमाडौंमा परेको पानी केही घण्टामै रोकिने उनले बताए । ‘पश्चिमबाट पूर्वतिर बादल सर्ने क्रममा छ । त्यही भएर काठमाडौंमा पनि फाट्टफुट्ट पानी पर्यो,’ मौसमविद झाले भने, ‘अहिलेको अवस्थामा भोलिदेखि नै सुधार देखिन्छ ।’ काठमाडौंमा भोलि बिहान पानी नपर्ने तर बादल भने लाग्ने पूर्वानुमान उनले गरे ।
उनले यो वर्षासँगै काठमाडौं आसपासका अग्ला डाँडाहरुमा हिउँ पर्ने सम्भावना रहेको पनि बताए । तर त्यसको प्रकृति कस्तो हुन्छ अहिले नै भन्न नसक्ने उनले बताए । बादल कति जम्मा हुन्छ त्यसको आधारमा मात्र हिमपातको प्रकृतिबारे एकिनका साथ भन्न सकिने मौसमविदहरु बताउँछन् ।
आइतबारदेखि फेरि पार्न पर्ने
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलका अनुसार आज रातिदेखि नै काठमाडौंमा पानी पर्न रोकिने छ । भोलि काठमाडौंमा बादल लाग्ने सम्भावना छ । तर शनिबार भने घाम लाग्ने गरी बादल हट्ने उनले बताए । आइतबार भने फेरि पश्चिमी वायुको प्रभावले हिमपात र वर्षा हुने प्रक्षेपण उनले गरे । ‘फेरि अर्को प्रणाली नेपाल आउँदैछ । त्यसको प्रभावले आइतबार र सोमबार आज जस्तो भयो, त्यस्तै खालको हुनेछ,’ डा। पोखरेलले भने । तर अहिलेका मौसमी प्रणालीहरु कमजोर खालका भएकाले त्यसले ठूलो असर भने नपुर्याउने पूर्वानुमान छ ।
यद्यपि पानी पर्दा चिसो बढ्ने भएकाले जनजीवन प्रभावित हुने छ । चिसोले बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र दीर्घरोगीहरुलाई बढी असर गर्ने भएकाले चिसोबाट जोगिन ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ । तर यो वर्षाले प्रदूषण कम हुने, हुस्सु तथा कुहिरो छिट्टै हट्न सहयोग मिल्ने र क्रमशः तापक्रम पनि वृद्धि हुँदै जाने मौसमविदहरु बताउँछन् ।