सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–६, कुवापानीका १८ वर्षीय युवक भरत बुढाको हत्या गर्ने उनकै बाबु ४५ बर्षीय नयाराम बुढा पक्राउ परेका छन् । उनी कैलालीको टिकापुर–१ बाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको टोलीले उनलाई बिहीवार विहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।
उनकाअनुसार नयारामलाई मोबाइल लोकेसनका आधारमा पक्राउ गरिएको हो । हाल उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याउन लागिएको छ । घटना घटेको दिन देखिनै सम्बन्धीत नाकाहरुमा प्रहरीलाई खटाइसकिएको थियो । लम्कीपुरमा उनी साडुदाईको घरमा बसिरहेका थिए ।
त्यहीँबाट उनी भारतर्फ जाने तयारी गरिरहेका थिए । मङ्गलवार बिहान १ बजेतिर उनले आफ्नै छोराको बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले प्राप्त गरेका विभिन्न आधारहरूबाट पुष्टि भएको थियो । अनुसन्धानको क्रममा उनको घटनामा उनकै बुबा संलग्न रहेको प्रमाणहरू फेला परेका थिए भने उनकी बहिनीले पनि बुबाको नै हत्या गरेको बताएकी थिइन् ।
साथै असोज तेस्रो सातातिर छोरीलाई बलात्कार गरेको भन्दै उनी विरुद्ध प्रहरीमा जाहेरी परेको थियो । कार्तिक १५ गते प्रहरीमा परेको जाहेरीमा मृतककी बहिनीमाथि बुबाले बलात्कार गरेको विषय उल्लेख छ । प्रहरी अधिकृतका अनुसार भारतमा काम गरिरहेका बुबाले घरमा आएर मामा घरमा रहेकी छोरीलाई बोलाई बलात्कार गरेका थिए ।
बहिनीले दाइलाई भनेपछि दाइले प्रहरीमा जाहेरी दिएका थिए । आफु विरुद्ध जाहेरी दिएको भन्दै रिस साँध्न बाबुलेनै छोराको हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । भारतमा रहेका घटना घट्नुको केही दिनअघि मात्रै नेपाल आएका थिए । घटना बाबुले नै घटाएको भन्दै बुधवार मृतकका काकाले जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान सम्बन्धी जाहेरी समेत दर्ता गराएका थिए ।