सुर्खेत। सुर्खेत विमानस्थल विस्तारका लागि सर्वदलिय तथा सर्वपक्षीय बैठक बसेको छ । मङ्गलबार वीरेन्द्रनगर नगरपालिकाद्वारा बैठकको आयोजना गरिएको हो ।
विमानस्थलको धावन मार्ग र अन्य पूर्वाधार निर्माणका लागि सरोकारवाला सबै पक्षहरुसँग समन्वयकारी बैठक गरिएको हो ।
बैठकले छ बुँदे निर्णय समेत गरेको छ । अहिले सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन अति आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकार मार्फत सङ्घिय सरकारसँग माग गर्ने निर्णय गरिएको छ ।
निर्णयको दोस्रो बुँदामा विमान स्थल विस्तार गर्दा अधिग्रहण गरिने जग्गा र भौतिक संरचनाको चलनचल्तीको मूल्यमा स्थानीयवासीहरुलाई उचित मुआब्जा उपलब्ध गराउने गरी नीति बनाउन प्रदेश सरकारमार्फत सङ्घिय सरकारसँग माग गर्ने उल्लेख छ ।
विमानस्थलसँग सिमाना जोडिएको अमरज्योती नमूना माध्यामिक विद्यालयलाई उपयुक्त स्थानमा तत्काल स्थानान्तरण गर्न योजना र कार्यक्रम सहित पहलकदमी लिन प्रदेश सरकारसँग सम्झौता गर्ने तेस्रो निर्णय गरिएको छ ।
यसैगरी, कर्णाली प्रदेश अन्र्तगत नजिक रहेका विमानस्थलमा सुर्खेत विमानस्थलबाट नियमित हवाई सेवा सञ्चालन गर्न सङ्घिय सरकारसँग माग गर्ने र प्रदेश सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरिएको छ ।
बैठकको पाँचौं निर्णयमा विमानस्थलमा यात्रु विश्रामदेखि अन्य भौतिक संरचनाको व्यवस्था नभएको हुँदा तत्काल टर्मिनल भवन, यात्रु बस्ने स्थान, व्यवस्थित शौचालय लगायतका भौतिक संरचना निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग माग गर्ने उल्लेख छ ।
साथै, सर्वदलिय तथा सर्वपक्षीय बैठकबाट गरिएका निर्णयलाई वीरेन्द्रनगर नगरपालिकाको कार्यापालिकाको बैठक मार्फत कार्यान्वयनका लागि अगाडी बढाउन सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरिएको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।
बैठकमा प्रतिनिधिसभा सदस्य हृदयराम थानी, प्रदेश सभा सदस्यद्वय यामलाल कँडेल र जानकी सिंह, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, पूर्व प्रमुख, उपप्रमुख, उद्योग वाणिज्य संघका पदाधिकारी, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, नागरिक समाज लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।
बैठकमा विमानस्थल विस्तारका सम्बन्धमा सबैको एकमत रहेको थियो ।
सम्बन्धित समाचारः
विमानस्थल विस्तार सर्वपक्षीय बैठकमा के भने हृदयराम थानीले
विमानस्थल विस्तारको सर्वपक्षीय बैठकमा के भने यामलाल कँडेलले?
विमानस्थल विस्तार सर्वपक्षीय बैठकमा के भने पूर्व मेयर देवकुमार सुवेदीले ?