डोल्पा । हिमाली जिल्ला डोल्पामा जाडो बढेसँगै २ महिना विद्यालय बन्द हुने भएको छ । अत्याधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र पठनपाठनमा अप्ठ्यारो भएपछि पुस दोस्रो सातादेखि आगामी फागुन पहिलो हप्तासम्मका लागि जाडो बिदा दिने गरिएको छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाभित्रका २९ ओटै सामुदायिक विद्यालयहरुमा दुई महिना जाडो बिदा दिने गरेको त्रिपुरासुन्दरी नगरपालिकाका शिक्षा शाखा प्रमुख भीम थापाले जानकारी दिए । जाडोमा विद्यालय सञ्चालन गर्दा विद्यार्थी बिरामी हुने भएकाले पठनपाठन बन्द गरिएको प्रमुख थापाको भनाइ छ ।
पालिकाले २ महिना जाडो बिदा दिने निर्णय गरेपछि नगरपालिकाभित्र कार्यरत शिक्षकहरु आफ्नो घरतर्फ लागेका छन् । उपल्लो डोल्पाका विद्यालयहरू चिसोको कारणले गर्दा मंसिरमै बन्द भइ सकेका छन् भने तल्लो डोल्पाका केही विद्यालयहरुमा वार्षिक परीक्षा चलिरहेको छ । परीक्षा सकिने बितिक्कै विद्यालयहरु बन्द हुनेछन् ।
डोल्पामा अत्याधिक हिउँ पर्ने र जाडो हुने भएपछि अधिकांश विद्यालयहरू पुस दोस्रो सातादेखि बन्द भै फागुन पहिलो साता देखि खुल्ने गर्छन् । चिसो बढेपछि उपल्लो डोल्पाका बासिन्दाहरु जाडो छल्न गाउँ नै खाली गरेर बेँसीतिर समेत झर्न थालेका छन् ।