काठमाडौं । नक्कली कागजपत्र बनाउने ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । एर भिजिट भिसामा विदेश पठाउने गिरोहका ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार गत असोज १९ गतेदेखि हालसम्म नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने लाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको हो।
आजमात्रै थप ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, एयरलाइन्सका २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरु ११ जना रहेका छन् । ९ जनामाथि संगठित अपराधमा र १२ जनामाथि लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको पनि जानकारी दिए । ८ जना धरौटीमा छुटिसकेका छन् ।
प्रहरी नायव उपरीक्षक गोविन्द पन्थीका अनुसार पक्राउ पर्नेमा अध्यागमन विभागका अधिकृत नरविर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेलसमेत छन् ।ट्राभल एजेन्सीका सञ्चालकहरुमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, एण्ड होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल पक्राउ परेका छन् ।
त्यस्तै एडभान्स म्यानेजमेण्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पनि पक्राउ परेका छन् ।