हुम्ला। हिमाली जिल्ला हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको छ । सोमबार बिहानैदेखि हुम्लामा हिमपात भएको छ । आइतबार मौसममा बदली भई रातिदेखि हुम्लामा भारी हिमपात भएको हो ।
गत वर्ष माघबाट हिमपात सुरु भए पनि यस पटक भने मंसिर तेस्रो सातामा हिमपात भएको हो । हिमाली जिल्ला हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलले बताए ।
हिमपातसँगै अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । हिमपातले हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध हुने भएको छ । हुम्लाको माथिल्लो क्षेत्र नाम्खा गाउँपालिका लिमी, यारी,चाला क्षेत्रमा पनि भारी हिमपात भएको छ ।
बिहानैदेखिको प्रतिकूल मौसमपश्चात हिउँ पर्न सुरू भएको छ । लामो समयदेखि हिउँदे झरी र हिउँ नपर्दा निराश बनेका किसानहरू हिउँ पर्न थालेपछि खुसी भएको नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले बताए ।
त्यस्तै डोल्पा, मुगु र जुम्लाका माथिल्लो भागमा पनि हिँउ परिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएका छन् । हिमपातले हिमाली जिल्लामा हवाई सेवा बन्द भएको छ । सोमबार मुगु , डोल्पा, हुम्ला र जुम्लामा हवाई उडान हुन नसकेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।