सुर्खेत। नेपाल सरकारका उपप्रधानमन्त्री एबम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन्।
शुक्रबार वीरेन्द्रनगरमा सुरु भएको नेपाल राष्ट्रिय मगर संघको दोस्रो कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले देश विविध कारणले अप्ठेरोमा परेको बताए।
‘संविधानलाई विभिन्न बहानामा हल्लाउने कोशिस भइरहेको छ। त्यसप्रति सजग हुन आवश्यक छ।’ उनले भने, ‘संविधानलाई भड्काउने कोशिस भएको संकेत देखिएकाले यसमा काङ्ग्रेस जिम्मेवार बन्नु पर्दछ।’
काङ्ग्रेस उपसभापति समेत रहेका खड्काले पद प्राप्त पछिको घमण्ड अहंकारका कारणले कांग्रेसप्रति जनताको गुनासो बढेको बताए। त्यसैले प्रत्येक नेता कार्यकर्ताको व्यवहार र बोली वचनमा सुधार गर्न आवश्यक रहेको बताए।
‘हरेक दिन हाम्रा गतिविधि आम जनताको मोबाइलमा कैद भएका छन्। मतदाताले हरेक पल परीक्षा लिइरहेका छन्।’ उनले भने, ‘पार्टी र भातृ संस्था सुधार गर्न आवश्यक छ। हामी सच्चिन आवश्यक छ।’
साथै उनले यो अधिवेशनले सन्देश दिने विश्वास व्यक्त गरे। आगामी महासमिति बैठक का लागि पनि महत्वपूर्ण सुझाब आउने अपेक्षा गरे।