सल्यान । सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ निवासी ३१ वर्षीया सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउँपालिका–६ की ४० वर्षीया अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आज दिउँसो ३ बजेको समयमा ना६ख ५४६३ नम्बरको बस दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीले दाङको तुलसीपुरबाट सल्यानको जयचौरका लागि छुटेको उक्त बस सल्यानको कपुरकोट गाउँपालिका–३ मुलपानी नजिकै दुर्घटना भएको जनाकारी दिए।
उनले भने, ‘दुर्घटनामा परि अन्य १४ जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको छ। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।’