सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले मन्त्रालयलाई जरिवाना तिरेको छ । प्रदेश वातावरण संरक्षण ऐन २०७७ को उलंघन गरेपछि जरिवाना बुझाएको हो ।
ऐन बमोजिम प्रदेशका कुनैपनि गौरवका आयोजना सञ्चालन गर्नुपूर्व वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) गर्नुपर्दछ । प्रस्तावक निकायले ईआइए प्रतिवेदन तयार गरी स्वीकृतिका लागि मन्त्रालयमा पेश गर्नुपर्ने हुन्छ । प्रतिवेदन अनुसार आवश्यक प्रक्रिया हेरफेर गरी मन्त्रीस्तरीय निर्णयले प्रतिवेदन स्वीकृत गर्दछ । ऐन बमोजिम तोकिएको प्रक्रिया पूरा नगरी काम सञ्चालन गरेपछि मन्त्रालयले परिषदलाई जरिवाना तोकेको थियो ।
ऐनमा ५० हजारसम्म जरिवाना तोक्न सक्ने व्यवस्था भएपनि मन्त्रालयले परिषदलाई १० हजार रुपैँया मात्र जरिवाना तिर्न परिषदलाई गत फागुन १० गते पत्राचार गरेको थियो । परिषद्का पदाधिकारीले तोकिएको जरिवाना नतिर्ने अटेरी अभिव्यक्ति दिएपनि अन्ततः जरिवाना रकम बुझाएका छन् । परिषदले जरिवाना वापतको रकम तिरेको बैंक भौचर मन्त्रालयमा प्राप्त भएको मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठले बताए ।
करिब ३५ प्रतिशत बढी काम सम्पन्न भैसकेपनि प्रदेश रंगशालाको अहिलेसम्म ईआइए प्रतिवेदन स्वीकृत भएको छैन । अब, जरिवाना रकम तिरेपछि ऐन बमोजिम ३० दिनभित्र स्वीकृत गर्ने भनी गत माघ २९ गते मन्त्रीस्तरको निर्णय भएको थियो ।
आयोजना सुरु हुनुपूर्व ईआइए प्रतिवेदन किन तयार गर्नुपर्दछ ?
प्रदेश वातावरण संरक्षण नियमावली बमोजिम शहरी विकास क्षेत्र अन्र्तगत १० हजार वर्गमिटर क्षेत्रफलभन्दा माथिको आवासीय, व्यवसायिक वा दुबै प्रकृतिको भवन निर्माण गर्नुपरेमा, दुई हजारभन्दा बढी एकै पटक आगमन तथा निगमन हुने रंगशाला र २० हजार लिटर भन्दा बढी दैनिक पानीको प्रयोग हुने भवन निर्माण तथा सञ्चालन सञ्चालन गर्न अनिवार्य रुपमा वातवरणीय प्रभाव मूल्यांकन (ईआइए) गर्नुपर्दछ । त्यसअनुसार प्रदेश रंगशालाको क्षेत्रफल, क्षमता र पानी आवश्यक पर्ने प्रतिवेदनमा औल्याइएको छ । त्यसैले पनि ईआइए प्रतिवेदन अनिवार्य बनेको छ ।
ईआइए प्रतिवेदनले निर्माण क्षेत्रको विद्यमान अवस्था, आयोजना कार्यान्वयनका कारणले वातावरणमा देखिन सक्ने सकारात्मक तथा नकारात्मक प्रभावको पहिचान र त्यसको न्यूनीकरणका उपायहरुको अध्ययन गर्दछ ।
ईआइए प्रतिवेदनमा वातावरणलाई प्रतिकुल पार्ने निश्कर्ष देखिए कतिपय आयोजना रद्द गर्नुपर्ने समेत हुन्छ । यद्यपी, त्यसो भने हुन सकेको छैन ।
रंगशालाको वातावरणीय प्रभावलाई कसरी हेरिएको छ ?
रंगशाला निर्माण पछि स्थानीय व्यापार व्यवसाय तथा रोजगारका अवसर सिर्जना हुनुका साथै आसपासको जग्गाको मुल्य वृद्धि र सडक स्तरोन्नती हुने सकारात्मक प्रभावहरु औल्याइएको छ ।
यस्तै, आयोजना निर्माणका चरणमा आसापासको क्षेत्रमा धुँवा, धुलो, ध्वनी आदिले वातावरणलाई प्रदुषित बनाउने नकारात्मक प्रभावहरु औल्याइएको छ । यहाँको भू–उपयोग परिवर्तन, ड्रेनेज व्यवस्थापन र ट्राफिक व्यवस्थापन लगायतका समस्याहरु उत्पन्न हुनसक्ने बताइएको छ ।
साथै, फोहोरमैला व्यवस्थापन, सार्वजनिक सेवाहरुमा दबाव, सम्भावित प्रकोप र दुर्घटना जोखिम हुनुका साथै स्थानीय र बाह्य कामदारका बिच द्वन्द्व, बालश्रमको प्रयोग र लैंगिक एवंम् जातीय विभेदको समस्या हुनसक्ने यसका नकारात्मक प्रभावहरु औल्याइएको छ ।
नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न आसपासको क्षेत्रका सडक मर्मत, धुलो उड्न नदिन पानी छर्किने, सवारी साधनको नियमित चेकजाँच गर्ने, स्टकपिलिङ गरिएका पर्दाथलाई छोप्ने व्यवस्था गर्न सुझाव दिइएको छ ।
जरिवाना तिर्नुपर्ने अवस्था किन?
वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) प्रतिवेदन स्वीकृत नगराई प्रदेश रंगशाला निर्माणको काम गरेपछि जरिवाना तिर्न परेको हो ।
२०७८ भदौं महिनामा ईआइए प्रतिवेदन मन्त्रालयमा बुझाएको प्रदेश खेलकुद विकास परिषदका सदस्य सविच विश्वामित्र संज्यालको दाबी छ । प्रदेश रंगशाला निर्माणको शिलान्यास २०७८ मंसिर २० गते भएको थियो । तर, ती पत्र र प्रतिवेदनहरु ईआइए प्रतिवेदन नभै रंगशाला निर्माणको क्षेत्रगत शर्त सूची (टीओआर प्रतिवेदन) भएको दाबी गरिएको छ ।
परिषद्ले २०७८ भदौ १८ गते मन्त्रालयमा बुझाएको टीओआर प्रतिवेदन बुझाएको थियो ।
खेलकुद परिषद्ले विभागीय मन्त्रालय सामाजिक विकास मन्त्रालय हुँदै २०७९ पुस ६ गते वन मन्त्रालयमा अन्तिम प्रतिवेदन पेश गरिएको बताइएको छ । मन्त्रालयले सर्वसाधारणको जानकारीका लागि थप राय सुझाव लिन ७ दिनको समय दिएर २०७९ पुस १८ गते मन्त्रालयको वेबसाइटमा राखेको थियो ।
ईआइए प्रतिवेदन स्वीकृति नै नभै काम सुरु भएको पाइएपछि जरिवाना तिर्न बाध्य भएको हो ।
वीरेन्द्रनगर ८ स्थित निर्माणाधीन रंगशालाको झण्डै ३५ प्रतिशत काम सम्पन्न भइसकेको छ । २०८१ जेठ ११ गतेभित्र रंगशाला निर्माण सम्पन्न गरिसक्ने कार्यादेशसहित १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० रुपैयाँ लागतमा रंगशाला निर्माणको जिम्मा एमएसी–जीएसएल कम्पनीले पाएको छ । १० हजार दर्शक अट्ने क्षमताको रंगशाला अत्याधुनिक प्रविधिमा निर्माण भइ रहेको छ ।
याे पनिः