सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका १३ गाईघाट र लेकवेशी नगरपालिका ७ कुइनेलाई भेरी नदी झोलुङ्गे पुलले जोडिएको छ । रोटीबेटीको सम्बन्ध रहेका यी गाउँहरुबीच दुरी नजिक भएपनि पुल नबन्दा दुरी टाढा भएको थियो । ‘अब माइत जान नजिक पर्ने भयो ।’ स्थानीय महिलाले हर्षित हुँदै भनिन् ।
लेकवेसी नगरपालिका ७ का स्थानीय मानबहादुर बुढाले दैनिक उपभोग्य सामान किनमेल गर्न समेत सहज भएको बताए । ‘दुई घण्टा बढी समय लाग्थ्यो बजार पुग्न । पुल भेट्न कम्तिमा एक घण्टा हिड्नपथ्र्यो । अब पुल बनेपछि आधा घण्टामै बजार पुगिन्छ ।’ उनले भने, ‘विरामी हुँदा पनि नजिकै एम्बुलेन्स आउछ । पुलबाट तारेर लैजान्छौुं यहाँका बालबालिकालाई पनि माध्यामिक शिक्षाका लागि विद्यालय पुग्न सहज हुने विश्वास लगिएको छ ।
भेरी पारीबाट घाँस दाउरा लगायतका काम गर्न पनि सहज भएको स्थानीय डिल्ली विकले बताए । लेकवेसी नगरपालिकाका मात्रै करिब पाँच सय घरधुरी लाभान्वित भएका छन् । भेरीगंगाका दुई र लेकवेसीका तीन गरी पाँच गाउँ लाभान्वित भएको छन् ।
पुल नहुँदा ट्युवबाट वारपार गर्नुपर्ने भएकोले मानवीय क्षती समेत हुनेगरेकोमा अब सहज हुने स्थानीयको भनाई थियो । टुडेबाट सामान्य विरामी पर्दा बजार पुग्न कम्तिमा दुई घण्टा समय खेर जान्थ्यो । अब पुल बनेपछि कम्तिमा आधा घण्टा सहज भएको स्थानीय पृथ्वीबहादुर बुढाक्षेत्रीले बताए ।
शहरी विकास मन्त्रालय अन्र्तगत स्थानीय पूर्वाधार विभागको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतले उक्त पुल निर्माण गरेको हो । पुलको मंगलबार मन्त्रालयका सचिव सुरेश आचार्यले मंगलबार औपचारिक उद्घाटन गरेका छन् ।
‘डि टाइपु मा निर्माण गरिएको उक्त पुल एक सय ८० मिटर लम्बाई छ । यसका लागि एक करोड ५८ लाख ६१ हजार सात सय ४९ रुपैँया लागत अनुमान गरिएकोमा ९० लाख ४० हजार रुपिँयामा पुल निर्माण सम्पन्न भएको कार्यालय प्रमुख सिनियर डिभिजनल ईन्जिनियर पुन्यराम सुलुले जानकारी दिए ।
२०७९ साल भदौं ६ गते पुल निर्माणको सम्झौता गरेको हिमशिखर कन्स्ट्रक्सन सेवाले २०८० साल फागुन ५ गते सम्पन्न गर्नुपर्ने थियो । तर, निर्माण सम्पन्न हुने मिति अगावै करिब ६ महिनाभित्रै पुल निर्माण भएको छ ।
तोकिएको समय अगाबै कार्यसम्पन्न गरेकाले पुल उद्घाटन समारोहमा निर्माण व्यवसायीलाई सम्मान समेत गरिएको थियो । झोलुङ्गे पुल निर्माण कार्य अन्र्तगत स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयको यो पहिलो योजना समेत हो । कार्यालय प्रमुख सुलुका अनुसार चालु आर्थिक वर्षमा कर्णाली प्रदेशभर १९ वटा झोलुङ्गे पुल निर्माण हुँदैछन् । जसमध्ये १७ वटा पुलको काम सुरु भैसकेका छन् । सुर्खेतको बबई नदी र डोल्पाको छार्कातामसोङमा पुल निर्माणमा केही समय ढिलाई हुने भएको उनले बताए ।
पुलको उद्घाटन समारोहमा मन्त्रालयका सचिव आचार्यले लाभान्वित वस्तिहरुमा उत्पादन हुने कृषि उपजको बजारीकरण तथा जनजीवनमा सहज बनाउने विश्वास व्यक्त गरे । उनले पुल निर्माण कार्य हेर्दा सानो भएपनि दीर्घकालीन प्रभाव पार्ने काम भएको बताए । अबको तीन वर्षभित्र कुनैपनि खोला तर्ने साधन नभएको देशभरका खोला तथा नदीहरुमा पुल निर्माण गर्ने नीतिगत निर्णय भएको जानकारी दिए ।
विभागका निर्देशक ईश्वरचन्द्र मरट्ठाले मंगलबारसम्मको प्राप्त विवरण अनुसार देशभर नौं हजार आठ सय पचास ओटा झोलुङ्गे पुल निर्माण सम्पन्न भै सञ्चालनमा रहेको बताए । चालु आर्थिक वर्षको केही महिनाभित्रै १० हजार पुल निर्माण हुने तयारीमा रहेको जानकारी दिए । उनले अबको तीन वर्षमा तीन हजार पुल निर्माण गर्ने सरकारको लक्ष्य रहेको बताए ।
यस्तै, भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले पुल निर्माणले जनजीवनमा सहज भएको बताए । उनले भेरीगंगा नगरपालिका क्षेत्रभित्र करिब २० वटा पुल निर्माणका लागि विभागसँग माग गरिएको जानकारी दिए ।