सुर्खेत। नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभामा महासंघले कस्तो सहयोग लिने वा कस्तो नलिने भन्ने सन्दर्भ उठान भएको छ । महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपानेद्वारा प्रस्तुत प्रतिवेदनमा यसबारे पुष्टि हुनका लागि छलफलको विषय बनाइएको हो ।
महासंघका हरेक तहमा आर्थिक पक्षसँग जोडिएका हरेक काम स्वच्छ र पारदर्शी ढंगले सम्पन्न गर्नका लागि बनेको आर्थिक नियमावली, लेखासंहिता कडाइसाथ पालना गर्न जरुरी रहेको संयोजक न्यौपानेले बताए ।
महासंघका कतिपय शाखाले केही आर्थिक कारोबार फरस्र्यौट नगरिदिंदा त्यसको असर केन्द्रलाई समेत पर्ने र कामकारबाही प्रभावित हुने गरेको भन्दै यसलाई समाधान गर्न सुझाव दिइएको छ ।
महासंघमा अहिले पनि ४ वटा परियोजना संचालनमा रहेकोले तिनलाई पत्रकारको हितमा प्रभावकारी ढंगले परिचालन हुन नसकेको संयोजक न्यौपाने जनाए । उनले दाताले भनेअनुसार गर्नुपर्दा महासंघ पनि एनजिओजस्तो हुने त होइन भन्ने खतरा देखिएको बताए ।