काठमाडौँ। निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशको समानुपातिक तर्फको मतपत्र संशोधन गरेको छ। दुई प्रदेशमा समानुपातिक तर्फ बन्दसूची बुझाउने पार्टीको चिह्न मात्रै मतपत्र छपाइ गर्न लागेको हो।
आयोगमा यसअघि सुदूरपश्चिममा ५० दल र कर्णाली प्रदेशमा ४९ दलले समानुातिकमा सहभागि हुने निवेदन दिएका थिए। आइतबार र सोमबार आयोगमा बन्दसूची बुझाउँदा सुदूरपश्चिममा समानुपातिकको २१ सीटमा ३४ दलले मात्रै बन्द सूची बुझाएका छन्। त्यस्तै कर्णाली ४९ दलले समानुपातिकमा भाग लिने भन्दै निवेदन दिएकोमा २८ दलले मात्रै बन्दसूची बुझाएका छन्।
दर्ताको आधारमा समानुपातिक तर्फको मतपत्र छपाइ सुरु गरिसकेको थियो। सोमबारसम्म कर्णाली र सुदूरपश्चिमको मात्रै मतपत्र छपाइ गर्न बाँकी रहेकाले आयोगले दुबै प्रदेशमा बन्दसूची बुझाउने दलको मात्रै चिह्न राखेर मतपत्र छपाइ गर्ने भएको छ। प्रत्यक्ष तर्फको मतपत्र भने सबै प्रदेशमा उम्मेदवार रहेको चिह्नको मात्रै मतपत्र छाप्ने भएको छ।