काठमाडौं । भारी वर्षाले पश्चिमी नेपालका कर्णाली, महाकाली र बबईले खतराको तह पार गरेर सामान्य अवस्थामा फर्किन थालेका छन् । यो समाचार तयार पार्दासम्म महाकाली नदीको खतराको तह भने कायमै छ ।
कैलालीको चिसापानीस्थित बाढी मापन केन्द्रमा कर्णालीको बाढी १०.९२ मिटर पुगेको छ । यो नदीको खतराको संकेत १०.८ तोकिएको छ । अहिले उक्त नदीको प्रवाह भने स्थिर छ ।
त्यस्तै महाकाली र बबई नदीमा खतराको तह पार गरेकाले जल तथा मौसम विज्ञान विभागले सतर्क रहन सूचना जारी गरेको छ । यो समाचार तयार पार्दासम्म चाँदनी दोधारास्थित मापन केन्द्रले महाकालीको बाढी प्रवाह ६.९९ मापन गरेको छ । यो केन्द्रमा खतराको तह ६.५ मिटर हो ।
यसैगरी कञ्चनपुरको दोदा केन्द्रका अनुसार महाकाली नदीको बाढी ३.५५ मा झरेको छ । यहाँ बाढीको सतह ४ मिटर पुगेपछि खतराको मानिन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दोदा केन्द्रमा महाकाली नदीको बाढीको सतह घट्दो क्रममा छ ।
यसैगरी महाकाली डडेलधुरास्थित पारिगाउँ बाढी मापन केन्द्रमा भने जलसतह सतर्कताको तह पार परेको छ । यहाँ सतर्कताको तह ६.८० मिटर र खतराको तह ८ मिटर मानिन्छ । यो समाचार तयार पार्दासम्म महाकालीको दोदा केन्द्रमा बाढीको सतह ७.७९ मिटर पुगेको छ ।
यसैगरी बर्दियाको चेपाङ केन्द्रका अनुसार बबई नदीको बाढीको सतह ६.७६ मिटरमा झरेको छ । यो केन्द्रमा बबईको बाढीको सतह ६.८० पुगेपछि खतरा मानिन्छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले डडेलधुराका जोगबुढा र साहुखर्क, कैलालीका अत्तरिया, बलिया र बचिला तथा दाङको पदमपुरमा भारी वर्षा भइरहेको छ ।