युक्रेनले रुसको पश्चिमी कुर्क्स क्षेत्रमा आफ्नो सैन्य कार्यालय बनाएको छ । युक्रेनका शीर्ष कमान्डर ओलेक्सान्द्र सिर्स्कीले उक्त क्षेत्रबाट रुसमाथि आक्रमण जारी रहेको बताएका छन् ।
यो सैन्य कार्यालयले कानुनी व्यवस्था कायम राख्न तथा मानिसहरूको तत्कालको आवश्यकता पूरा गर्न उपयोग गरिने सिर्स्कीले जनाएका छन् । उनले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा सैन्य अखडा खोलिएको बताएका छन् । रुसले पनि यसबारे प्रतिक्रिया दिएको छ । बीबीसीका अनुसार रुसी रक्षामन्त्री आन्द्रेइ बेलसोबले भनेका छन्कु-र्क्स क्षेत्रका मानिसहरूको सुरक्षाका लागि आवश्यक कदम उठाइनेछ ।
युक्रेनले बिहीबार रुसी क्षेत्र आफूहरूले नियन्त्रणमा लिएको दाबी गरेको छ । सिर्स्कीले आफ्ना सैनिकहरू कुर्क्सको ३५ किलोमिटर भित्रसम्म प्रवेश गरेको दाबी गरेका छन् । यो युक्रेनले रुसमाथि गरेको हालसम्मको ठूलो आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
तर, युक्रेनले भने रुसी भूभाग कब्जा गर्नु आफूहरूको उद्देश्य नरहेको बताएको छ । युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता हिओरही टाइखीले बुधबार यो आक्रमण शान्ति स्थापनाका लागि रुसमाथि दबाब बढाउने प्रयासको एक भाग रहेको दाबी गरेका थिए ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आफ्ना सेनाहरूले रुसको सुद्जाहा शहर कब्जा गरेको बताएका छन् ।