सुर्खेत। फिस्टुला उपचार केन्द्र प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण गरिएको छ। इन्टरनेसनल नेपाल फेलोसिप (आईएनएफ) र तत्कालीन मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको साझेदारीमा सन् २००९ देखि सञ्चालित महिलाको स्वास्थ्य सेवाका लागि निर्माण गरिएको फिस्टुला उपचार केन्द्र हस्तान्तरण गरिएको हो।
आइतबार एक कार्यक्रमका बीच कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आईएनएफ नेपालका कार्यकारिणी समिति अध्यक्ष रामचन्द्र तिमोथीको उपस्थितिमा प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण गरिएको हो।
फिस्टुला उपचारका लागि प्रभावकारी सेवा प्रदान गर्न मन्त्री भण्डारीले आग्रह गरे । सन् २०३० सम्म फिस्टुला उन्मूलनका लागि प्रदेश सरकार निरन्तर लाग्ने र फिस्टुला अपरेसनका क्रममा उपलब्ध हुने सुविधाको गुणस्तरमा कमी हुन नदिने उनले बताए ।
सन् २०१० बाट पश्चिम नेपालमा फिस्टुलासम्बन्धी जनचेतना कार्यक्रमको सुरूवात भएको थियो । सन् २०१४ मा सुर्खेतमा फिस्टुला उपचार केन्द्रको स्थापना गरी नियमित सेवा सञ्चालन गर्ने उद्देश्यले आईएनएफ नेपाल , नेपाल सरकार , स्वास्थ्य मन्त्रालय र तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालबीच सम्झौता भएको थियो ।
आईएनएफ नेपालको आर्थिक र प्राविधिक सहयोगमा सन् २०१६ देखि वीरेन्द्रनगरको कालागाउँ प्रदेश अस्पताल परिसरमै १७ शय्याको फिस्टुला उपचार केन्द्रको भवन निर्माणको सुरूवात गरिएको थियो । सन् २०१८ मा भवन सम्पन्न गरेर प्रदेश अस्पताललाई हस्तान्तरण गरिसकिएको थियो । अहिले भवनसँगै , मेडिकल उपकरण , कार्यालयका सामान, स्वास्थ्यसम्बन्धी मेसिन, फर्निचर लगायत फिस्टुला उपचारमा खटिने जनशक्ति प्रदेश अस्पताललाई हस्तान्तरण गरिएको हो ।
अहिले यो केन्द्रबाट फिस्टुलाका बिरामीको नियमित उपचार र शल्यक्रिया भइरहेको छ ।
प्रदेश अस्पतालको सहकार्यमा सन् २००९ देखि २०२४ सम्म फिस्टुला आउटरिच कार्यक्रममार्फत स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, समुदायका विभिन्न समूह र संघसंस्था गरी ३९ हजार ६ सय ९९ जनालाई फिस्टुलासम्बन्धी अधिमुखीकरण गरिएको हस्तान्तरण कार्यक्रममा जानकारी गराइएको छ । यस्तै यो अवधिमा कर्णालीसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ३१ जिल्लाका ४ सय ५९ जना बिरामीको ५ सय ६३ वटा शल्यक्रिया गरिएको छ ।