काठमाडौँ । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को सट्टा अब राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी गरेको छ । त्यसका लागि सवारी चालकले राष्ट्रिय परिचयपत्र वा नम्बर भनेका आधारमा ट्राफिक प्रहरीले लाइसेन्स भएरनभएकोबारे पत्ता लगाउने छ ।
त्यसका लागि लाइसेन्स बोकेर हिँड्न नपर्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए । ‘लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्न गृह मन्त्रालयले निर्णय गरेर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच समझदारी(पत्रमा हस्ताक्षर (एमओयू) हुँदै छ,’ उनले भने, ‘त्यही एमओयूमा लाइसेन्सको प्रयोग सम्बन्धी व्यवस्थाहरु उल्लेख हुने छन् ।’
राष्ट्रिय परिचयपत्रबाटै नागरिकहरुले लाइसेन्सको सेवा लिन सक्ने उनको भनाइ छ । ‘यसका लागि दुवै विभागले आपसी सहकार्य र समन्वयमा प्रणाली (सिस्टम) को विकास गर्ने छन्,’ उनले भने, ‘राष्ट्रिय परिचयपत्र नम्बर वा छुट्टै जारी गरिएको क्यूआर कोडमार्फत लाइसेन्स हेर्न मिल्ने सिस्टमको स्थापना, परिक्षण र सञ्चालन गरिने छ ।’ यसको तयारी भइसकेको उनको दाबी छ ।
यसरी लाइसेन्स चेक गर्नका लागि आवश्यक पर्ने मोबाइल डिभाइसहरू किन्दै लगिने महानिर्देशक रिजालले बताए । ‘डिभाइस किन्नका लागि प्रदेश मन्त्रायहरूसँग पनि कुरा गरिने छ,’ उनले भने, ‘गृह सचिवले सार्वजनिक यातायात प्राधिकरणमा केही बजेट रहेको र त्यसबाट किन्न सकिने बताउनु भएको छ ।’ यो लागू गर्नेबारे पनि समिति गठन गरिएको छ । सबै कुरा त्यही समितिले हेर्ने उनले सुनाए । ‘सफ्टवेयर बनिसकेको छ,यसमा डिभाइस किन्नु पर्ने छ,’ उनले भने, ‘प्रदेश यातायात मन्त्रालयका मन्त्री र सचिवहरूसँग केही भित्र नै विभागले छलफल गर्दै छ, त्यो बेला पनि मोबाइल डिभाइस किन्नेबारे कुरा उठाइने छ ।’
अहिले सबै प्रक्रिया पूरा गरिसकेका १६ लाख सेवाग्राहीको लाइसेन्स प्रिन्ट हुन बाँकी छ । ‘अब १६ लाख सेवाग्राहीको मात्र कुरा भएन, ५६ लाख लाइसेन्स प्रयोगकर्ताहरूको कुरा हो,’ उनले भने, ‘त्यसैले अब राजश्व तिरेको चिर्कटो बोकेर हिँड्न पर्दैन, राष्ट्रिय परिचय पत्र देखाएमा वा नम्बर भने मात्र पुग्ने छ ।’ ट्राफिक प्रहरीलाई लाइसेन्स परीक्षण गर्ने मोबाइल डिभाइस उपलब्ध हुनसाथ यो नियम लागू हुने उनको भनाइ छ ।