काठमाडौँ । प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले देशभर इन्टरनेट सेवा बन्द गरेको छ । यसअघि आंशिक रूपमा इन्टरनेट सेवा बन्द गरिए पनि पछिल्लो पटक देशभर बन्द गरिएको हो । इन्टरनेट बन्द गरिएका कारण बंगलादेशका अनलाइन सञ्चारमाध्यमहरू बन्द भएका छन् ।
बंगलादेशमा सबैभन्दा पढिने ढाका ट्रिब्युन र बांग्ला ट्रिब्युनमा पछिल्ला समाचार अपडेट भएका छैनन् । त्यस्तै द डेली बांग्ला स्टार र द डेली स्टारलगायतका अनलाइन पोर्टल पनि बन्द भएका छन् । बंगलादेशमा झन्डै १३ करोडले इन्टरनेट सेवा प्रयोग गर्छन् ।
आइतबारदेखि बंगलादेशमा पुन: आन्दोलन चर्किएको हो । केही दिन मत्थर भएको सरकारविरोधी आन्दोलन पुनस् चर्किएको हो । आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९६ जनाको मृत्यु भएको ढाका ट्रिब्युनले जनाएको छ । विभेदविरोधी विद्यार्थी आन्दोलनु को ब्यानरमा भएको प्रदर्शनका क्रममा ठाउँ-ठाउँमा सुरक्षाकर्मीसँग झडप भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।
सोमबार कम्तीमा पनि ४ लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ढाकामा सोमबार मात्र प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ । राजधानी ढाकामा गाउँगाउँबाट समेत प्रदर्शनका लागि मानिसहरू आएको समाचारमा उल्लेख छ ।
सिराजगन्जस्थित इनायतपुर प्रहरी स्टेसनमा आक्रमण हुँदा १३ जना प्रहरीको मृत्यु भएको छ । आइतबार दिउँसो केही व्यक्तिको समूह आएर प्रहरी चौकीमा आक्रमण गरेको बताइएको छ । ड्युटीमा रहेका १३ प्रहरीलाई कुटिकुटी मारिएको ढाका ट्रिब्युनले जनाएको छ । केही ठाउँमा सत्तारुढ दल अवामी लिगका कार्यकर्ता र प्रदर्शनकारी विद्यार्थीबीच पनि झडप भएको छ ।
केही ठाउँमा अवामी लिगका कार्यकर्ता र नेताहरूको समेत मृत्यु भएको छ । बंगलादेशमा विद्यार्थीहरू सरकारी जागिरमा आरक्षणको विरोध गर्दै आन्दोलनमा उत्रिएका हुन् । पछिल्लो पटक उनीहरूको एकसूत्रीयु माग नै सरकारको राजीनामा रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएको छ । आन्दोलनका क्रममा मृत्यु भएकाको न्यायका लागि भन्दै विद्यार्थीहरू पुन: सडकमा उत्रिएका हुन् ।