काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार कक्षा १२ मा १ लाख ८७ हजार विद्यार्थी नन्ग्रेडेड भएका छन् । नियमिततर्फ ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थी सहभागी रहेकामा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् ।
सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ७८ हजार ७५ रहेको छ । २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ६१ हजार ३६ छ । ३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४६ हजार ८ सय ९३ रहेको छ ।
त्यस्तै सबैभन्दा माथिल्लो ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ५ सय ९१ छन् । २.१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार २ सय ४० र १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या १२ जना छन् ।
छात्रभन्दा छात्रा धेरै ’नन्ग्रेडेड’
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको कक्षा १२ को नतिजामा छात्रभन्दा छात्रा धेरै ’नन्ग्रेडेड’ भएका छन् । १ लाख ८७ हजार २१ विद्यार्थी अर्थात ४७ प्रतिशत विद्यार्थी एनजीमा परेका छन् ।
जसमा छात्र ४७ प्रतिशत र छात्रा ४९ प्रतिशत रहेका छन् । परीक्षामा १ लाख ९४ हजार ३ सय १९ जना छात्र सहभागी थिए । तीमध्ये ९१ हजार ४ सय ८७ जना एनजीमा परे भने १ लाख २ हजार ८ सय ३२ जनाले मात्र ग्रेड प्राप्त गरे । छात्रा १ लाख ९६ हजार ५ सय जना परीक्षामा सहभागी थिए । ९५ हजार ५ सय ४ जनाको नतिजा एनजी आएको छ भने १ लाख ९ सय ९७ जनाले ग्रेड प्राप्त गरेका छन् ।
परीक्षामा सहभागी हुने छात्र भन्दा छात्राको संख्या बढि थियो । दुई बिषयसम्म नन्ग्रेडिङमा परेका विद्यार्थीले पुरक परीक्षा दिन पाउनेछन् । दुई भन्दा बढी बिषयमा एनजीमा पर्ने विद्यार्थीले भने अर्को वर्ष मात्रै बार्षिक परीक्षामा ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।