काठमाडौँ । कुनै समय यस्तो थियो, जन्म दिनको उत्सव मनाउन होस् वा कुनै खुसीको क्षणमा अरूसँग आफ्नो खुसी बाँड्न हामी लड्डु वा मिठाई खुवाउँथ्यौं-बाँड्थ्यौं । तर अहिले जमाना फेरिएको छ । हरेक साना ठुला उत्सव वा अवसरमा हामी चकलेट बाँड्छौँ । कयौँ मानिसहरू चकलेटलाई स्वास्थ्यका लागि फाइदाजनक मान्छन् । चकलेट प्रडक्टको अत्यधिक सेवन पनि गर्छन् ।
तर, अमेरिकी वैज्ञानिकहरूले गरेको अध्ययनले नतिजाले चकलेट प्रेमीलाई झट्का लाग्ने भएको छ । अध्ययनका अनुसार कयौँ खाले चकलेट प्रडक्टमा विषालु ‘हेभी मेटल’ भेटिएको छ । यी धातुहरू हाम्रो स्वास्थ्यका लागि खतरनाक हुन सक्ने बताइएको छ । अमेरिकाको वाशिंगटन विश्वविद्यालयले गरेको अनुसन्धानमा चकलेटबाट बनाइएका कयौँ उत्पादनहरूमा अत्यधिक मात्रामा सीसा र क्याडमियमजस्ता विषाक्त भारी धातु पाइएको भन्दै न्यूयोर्क पोस्टले एउटा समाचार छापेको छ ।
यस अध्ययनमा वैज्ञानिकहरूले ८ वर्षसम्म कोकोबाट बनेका ७२ थरी उत्पादनहरूको विश्लेषण गरेका थिए । जसमा डार्क चकलेट पनि थियो । शोधकर्ताहरूले अनुसन्धानमा चकलेटबाट बनेका ४३ प्रतिशत उत्पादनमा सिसाको मात्रा तोकिएको सीमाभन्दा बढी रहेको पाए । ३५ प्रतिशत उत्पादनमा क्याडमियमको मात्रा आवश्यकताभन्दा बढी भेटियो । चिन्ताको कुरा त के छ भने अर्ग्यानिक प्रडक्टमा पनि विषाक्त धातुहरू पाइएको छ । चकलेट उत्पादनहरूमा यो विषाक्तता माटोबाट वा चकलेट बनाउने क्रममा भएको हुन सक्ने अनुसन्धानकर्ता बताएका छन् ।
यो अध्ययन विभिन्न ब्रान्ड र प्रकारमा चकलेटमा आधारित थियो । यसमा कयौँ उत्पादनहरूमा तोकिएको मापदण्डभन्दा धेरै मात्रामा विषाक्त धातुहरू पाइयो । सिसा हाम्रो शरीरका लागि निकै विषाक्त तत्त्व हो । यो शरीरमा लामो समय सम्म जम्मा भएर बस्न सक्छ । यसको सम्पर्कमा आउँदा स्नायु प्रणाली, मिर्गौला र मुटुको स्वास्थ्यमा प्रतिकूल असर देखिन्छ । बालबालिकाको शरीरमा पुगेपछि यसले मानसिक विकासमा समेत असर पुर्याउन सक्छ ।
चकलेटमा पाइएको अर्को विषालु भारी धातु क्याडमियमले मिर्गौला र हड्डीलाई असर गर्छ । लामो समयसम्म यसको सम्पर्कमा रहँदा हड्डी कमजोर हुन थाल्छ, मिर्गौलाको रोगसमेत कयौँ गम्भीर रोगहरू लाग्न सक्छ । कोको प्लान्टले जमिनबाटै भारी धातुहरू अवशोषित गर्न सक्ने र यही धातु पछि चकलेटमा पनि सर्ने वैज्ञानिकहरूले बताएका छन् । तपाईँ वा तपाईँका बालबच्चाहरूले पनि अत्यधिक चकलेटको सेवन गरिरहेका पो छन् कि रुयस्तो हो भने चकलेट सेवनप्रति सतर्क रहनुहोला । एजेन्सी