काठमाडौँ । प्रधानसेनापति शर्माको तीन वर्षे कार्यकाल भदौ २४ मा सकिँदैछ । उक्त कार्यकाल सकिनु एक महिनाअघि नै बिदामा बस्नु पर्ने परम्परा अनुसार सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिइएको हो
नेपाली सेनाका वरिष्ठ रथी अशोक सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिग्देललाई आगामी साउन २४ देखि लागू हुने गरी कार्यवाहक प्रधानसेनापति बनाउने निर्णय गरेको रक्षा मन्त्रालय स्रोतले बतायो । सैनिक सेवा नियमावली–२०६९ को दफा ९८ मा भएको व्यवस्थाबमोजिम प्रधानसेनापति पदावधि सकिनुभन्दा एक महिनाअघिबाट बिदामा बस्ने र कायममुकायम प्रधान सेनापतिलाई कमान्ड बरबुझारथ गर्ने प्रचलन रहेको छ । सोही व्यवस्थाबमोजिम प्रधानसेनापति प्रभुराम शर्मा यही साउन २४ गतेबाट बिदामा बस्दैछन् । त्यसपछि बलाधिकृत रथी सिग्देलले कायममुकायम प्रधानसेनापतिका रूपमा कमान्ड बुझ्ने छन् ।
सिग्देललाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएसँगै अब भदौ २४ बाट उनको नेपाली सेनाका प्रधानसेनापति बन्न बाटो लभभग तय भएको छ । प्रधानसेनापति शर्माको भदौ २४ मा तीन वर्षे कार्यकाल सकिनेछ र सिग्देलले आगामी तीन वर्ष करिब ९६ हजार सैनिक फौजको नेतृत्व गर्ने छन् । करिब ३८ वर्षदेखि नेपाली सेनामा सेवारत सिग्देलले स्वदेश तथा विदेशबाट उच्च शिक्षा र सैनिक तालिम गरेका छन् । उनले आर्मी कमान्ड एन्ड स्टाफ कलेज, शिवपुरी र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर, नेपालको आर्मी वार कलेजबाट हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स तथा भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन् ।
नेपाली सेनाका अनुसार सिग्देलले पदिक पृतना,बाहिनी र गणको कमान्ड गर्नुका साथै प्रतिविद्रोह तथा जङ्गल वारफेयर स्कुलको कमान्डेन्टका रूपमा जिम्मेवारी समेत निर्वाह गरेका छन् । उनले युद्धकार्य विभाग र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको विभागीय प्रमुखका साथै प्रधानसेनापतिको सैनिक सहायककोरुपमा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
सिग्देलले अन्तर्राष्ट्रिय सेमिनार, तालिम तथा बैठकहरूमा सहभागिताका बाहेक संयुक्त राष्ट्र संघीय शान्ति सैनिकका रूपमा तत्कालीन युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियामा काम गरेको अनुभव छ । साथै, उनले सुप्रबल जनसेवाश्री तेस्रोलगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक र मानपदवीहरूबाट विभूषित भएका छन् ।
उपरथीबाट रथीमा बढुवा हुँदा सिग्देलमाथि नागरिकता र शैक्षिक पत्र गडबड गरेको अरोप लागेको थियो । तर तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले सिग्देलको नागरिकता र शैक्षिक प्रमाण पत्रमा कुनै पनि त्रुटि नगरेको भन्दै रथीमा बढुवा गर्यो । त्यसपछि उनको प्रधानसेनापति बन्न बाटो खुलेको हो ।