काठमाडौं । यही २०८१ असार २३ गते साँझ कञ्चनपुर जिल्लाको दोधारा चाँदनी क्षेत्रमा घनघोर वर्षा हुन थाल्यो। स्थानीयले त्यसअघि कहिल्यै त्यति ठूलो वर्षा र बाढीको अनुभव गरेका थिएनन्।
असार २४ गते बिहान ८:४५ बजे कञ्चनपुरको दोधारा वर्षा केन्द्रले ६२४ मिलिमिटर वर्षा भएको मापन गर्यो। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा वर्षा मापन गर्न थालिएको ७७ वर्ष इतिहासमा यो सबभन्दा उच्च हो।
त्यसै दिन कञ्चनपुरकै हनुमाननगर वर्षा केन्द्रमा ५७३.६ मिमी र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मिमी वर्षा मापन भएको थियो।
अति भारी वर्षाका कारण आएको बाढीमा परेर कृष्णपुर-१ मा एक नाबालकको मृत्यु भयो भने बेलडाँडी-५ मा माछा मार्न गएका एक पुरूष बेपत्ता भए। कञ्चनपुरभरि ठूलो मात्रामा भौतिक क्षति भयो। बेलडाँडी गाउँपालिकाको चौधरा नदीको नहरमा लगाइएको तटबन्ध फुटेर पानी गाउँ पस्यो। बेलडाँडी-५ मा १५० घरधुरी र बेलौरी नगरपालिका-८ का १०० घरधुरी डुबानमा परे।
साँझदेखि नै पानी गाउँ पस्ने जोखिम देखेपछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिले नहरको बाँधमा माटो भरेर रोक्न खोजेका थिए। तर सम्भव भएन। बेदकोट-७ स्थित पूर्व-पश्चिम राजमार्गको कल्भर्ट भत्किएर आवतजावत नै बन्द भयो। बेलडाँडी गाउँपालिकाका सबैजसो वडा र बेलौरी नगरपालिकाका ९ र १० वडा डुबानको चपेटामा परे। तर इतिहासकै सबभन्दा भारी वर्षाका बाबजुद ठूलो मावनीय क्षति हुन पाएन।
वर्षा मापन हुन थालेपछिका ७७ वर्षमा यसअघि अति ठूलो पानी परेको २०५० साल साउनमा हो। साउन ६ गते २४ घन्टाभित्र टिस्टुङमा ५४० मिमी र हरिहरपुर गढीमा ४८३ मिमी वर्षा मापन भएको थियो। त्यस बेला हालको कोसी, मधेस र बागमती प्रदेशका जिल्लामा, खासगरी कुलेखानी जलाधार क्षेत्रमा ुक्लाउडब्रस्टु हुँदा कैयन स्थानमा पहिरो जानुका साथै अधिकांश खोला तथा खहरेमा गेग्रान बहावसहित बाढी आएको थियो।
साउन २ देखि ६ गतेसम्मको अवधिमा भारी वर्षा र त्यसबाट उत्पन्न बाढी र पहिरोबाट ११७० जनाको मृत्यु भयो। बागमती बाँधमा काम गरिरहेका ९ जना चिनियाँ कामदार बेपत्ता भए। राजमार्गका कयौं पुल, कुलेखानीको पेनस्टक पाइप लगायत धेरै भौतिक संरचनामा क्षति पुग्यो। कुलेखानीको इन्द्रसरोवर जलासयमा ५० वर्षका लागि बनाइएको डेड स्टोरेजु एकै रातमा गेग्रानले भरियो। छोटो अवधिमा भएको सबभन्दा विध्वंशकारी विपद् घटनाका रूपमा नेपालको इतिहासमा त्यो अभिलिखित छ।