काठमाडौं। काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइनसको विमान दुर्घटना भएको छ । त्रिभुवन विमानस्थल नजिकै विमान दुर्घटना भएको हो ।
दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु छ भने अन्य उद्दार कार्य भईरहेको छ । विमानका क्याप्टेनलाई उपचारका लागि अस्पताल लगिएको छ । अधिकारीहरुका अनुसार १९ जना यात्रारत रहेको जनाइएको छ ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार सौर्य एअरलाइन्सको ९ एन–एएमई जहाज काठमाडौंबाट विहान ११ बजे पोखराका लागि उडेको थियो ।
जहाज दुर्घटनास्थलबाट क्याप्टेनको उद्धार
जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् ।
उनको सिनामंगलको केएमसी अस्पतालमा उपचार भईरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।
विमानस्थल बन्द, अन्य उडान प्रभावित
जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएको विमानस्थल अधिकारीहरुले जनाएका छन् ।
उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने भएकाले दर्जनौं उडान अवतरण प्रभावित भएका छन् ।
इन्जिन परीक्षणका लागि पोखरा लगिंदै थियो सौर्यको जहाज
सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो ।
उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।