बागमती । त्रिशूलीको बहाव बढेका कारण बेपत्ता बस र यात्रुको खोजीकार्य प्रभावित भएको छ।
आइतबार बिहान नेपाली र भारतीय उद्धारटोलीले मोटरबोटबाट खोजीकार्य सुरू गरेका थिए। टोलीले १० मिनेटजति खोजीकार्य गरेपछि फर्किएको हो।
पानीको वहाब बढ्दा मोटरबोट अस्थिर भएर खोजीकार्यमा समस्या भएपछि टोली फर्किएको हो। ‘मोटरबोट तैरिन बल गर्छ। नदीले बगाउन बल गर्छ । यसो हुँदा मोटरबोट स्थिर भएन। अस्थिर भएर पल्टिहाल्यो भने उत्रिन गाह्रो हुन्छ,’ एक उद्धारकर्ताले भने।
दस मिनेटको अवधिमा नदीमा पठाइएको सोनार क्यामेराले खिचेका संकेतहरू ल्यापटपमा रेकर्ड भएका छन्। टोलीले ल्यापटपमा रेकर्ड भएको हेरेपछि पुनः खोजीकार्य सुरू गर्ने बताएको छ। र्याफ्टिङ बोट तुलनात्मक रूपमा केही स्थिर र पल्टिहाल्दा पनि उत्रिन सक्छ।
अब बस खसेको भन्दा केही तलबाट खोजीकार्य सुरू गर्न लागिएको छ।