काठमाडौं । गृहमन्त्रालयले रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । यस प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा छलफल हुँदैछ ।
आज बिहान नारायणगढ-मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको हो । यो विषयमा यातायात व्यवसयीहरूसँग छलफल गर्न लागेको मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख एवम् सहसचिव डा.भीष्मकुमार भूसालले जानकारी दिए ।
बर्खाको समयमा रातिमा सवारी साधन सञ्चालन गर्दा थप जोखिम हुने भएकोले गृहमन्त्रलायले यो समय रोक लगाउने तयारीका साथ छलफल गर्न लागेको हो । यसअघि २०७९ साल साउनमा रातिको यात्रा जोखिमपूर्ण भएको भन्दै मकवानपुर प्रहरी प्रशासनले त्रिभूवन राजपथ हुँदै काठमाडौं आउने बसलाई रोक लगाएको थियो ।
यातायात व्यवसायीहरूले भने रात्रिकालीन सेवामा रोक लगाउनु नै जोखिम न्यूनीकरणको उपाय नभएको बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारले रात्रिकालीन सेवा रोक्नुभन्दा सडक सुरक्षाका उपायमा ध्यान दिनुपर्ने बताए । ‘सेवा रोकिंदा हुने घाटा पूर्ति कसले गरिदिने रु’ उनले प्रश्न गर्दै भने, ‘कुनैकुनै ठाउँमा परिस्थितिबश् बन्द गर्नपर्ने त होला तर ठप्पै पार्ने गर्नुहुँदैन ।’
चितवनको घटनाबारे जानकारी पाउनसाथ गृहमन्त्रालयमा कमाण्ड पोष्टको आपत्तकालीन बैठक बसेको थियो । सो बैठकमा सहभागीहरूले घटनाको जानकारी लिनुका साथै बर्खाको समयमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउनुपर्ने धारण राखेका थिए । सोही विषयमा छलफल गर्न यातायात व्यवसायीहरूलाई बोलाइएको हो ।