सुर्खेत। केही समयअघि वीरेन्द्रनगर–६ स्थित हटीयालाईन आसपासबाट सञ्चालन हुँदै आएको हङ्गकङ बजार अबदेखि मुख्य राजमार्ग जुम्ला रोडमा सञ्चालन हुने भएकाे छ ।
बजाज शो–रुमको आडमा संरचना निर्माण गरी थप सेवासुविधासहित सञ्चालनमा आउन लागेको हो। बजार सञ्चालनका लागि चाहिने संरचना निर्माणको काम सुरु भएको जनाइएकाे छ।
हङ्गकङ बजार व्यवस्थापन समितिका अध्यक्ष प्रेमकुमार श्रेष्ठका अनुसार करिब १५ करोड लगानीमा नयाँ व्यवस्थापनसहित हङ्गकङ बजार सञ्चालन गर्न थालिएको हाे । यसका लागि साढे ६ कट्ठा जमिनमा संरचना निर्माण सुरु गरिएको छ ।
‘हामी पहिलेको ठाउँबाट उठ्नुपरेपछि कतिपय व्यवसायी पीडामा छौं, हङ्गकङ बजारमा सर्वसुलभ दरमा सामान किनिरहेका ग्राहक वर्ग सस्तो सामान किन्नबाट बञ्चित हुनुभएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘निर्माणको काम सुरु भईसकेको छ, असार महिना अघि नै नयाँ ठाउँमा नयाँ व्यवस्थापनसहित बजार सञ्चालनमा आउँछ।’
उनका अनुसार नयाँ ठाउँमा ५० वटा सटर रहनेछन्। ५० जना व्यवसायीसहित २५० जनाले नयाँ सञ्चालन हुने बजारबाट प्रत्यक्ष रोजगारी पाउने श्रेष्ठको दावी छ।
अब नयाँ व्यवस्थापनसहित सञ्चालनमा आउने हङ्गकङ बजारमा फेन्सी पसलका साथै साकाहारी तथा मांसहारी एक/एक वटा रेष्टुरेण्ट पनि हुनेछन्। बजार क्षेत्रभित्रै पार्किङको पनि व्यवस्था रहनेछ।
यसअघि सञ्चालनमा भएको क्षेत्र नगरपालिकाको स्वामित्वमा रहेकोले नगरपालिकाले सार्वजनिक संरचना बनाउन व्यवसायीहरुलाई खाली गर्न लगाएको थियो। विनाविकल्प व्यवसाय गरिरहेको ठाउँ छोड्नुपरेपछि व्यवसायीहरु मर्कामा परेका थिए।