काठमाडौँ। जापान पठाइदिने प्रलोभनमा २ सयभन्दा बढी मानिसहरूसँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
उनीहरूले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा वर्ष ३५ का नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने वर्ष ४६ का ईश्वरी पाण्डे रहेका छन् । श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ का हुन् भने पाण्डे झापा गौरीदह नगरपालिका १ का रहेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।
उनीहरूले दीपबहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको,सुनिलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख रकम लिएको देखिएको, वैदेशिक रोजगार विभागमा अन्य करिव १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको बताए ।
त्यस्तै निज राजन श्रेष्ठलाई मिति २०८१,०१,२० गते काठमाडौं जि. कागेश्वरी मनहरा न.पा. वडा नं. ७ बाट र ईश्वरी पाण्डेलाई काठमाडौं-२९ बाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको बताए ।