काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन्। शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले दमन गरेको भन्दै अध्यक्ष लिङ्देनले गृहमन्त्रीविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिए।
निषेधित क्षेत्र बाहिर रहँदासमेत हामीमाथि आक्रमण भएको छ। प्रहरीको आक्रमणबाट हाम्रा नेता तथा पूर्व मन्त्री बुद्धि तामाङ घाइते भएर ढल्नुभएको छ। हामी त्यसको घोर भर्त्सना गर्न चाहन्छौं, सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, सरकारको दमनविरुद्ध कडा प्रतिकार गर्छौं। गृहमन्त्रीको राजीनामा लिएर हाम्रो आन्दोलनलाई थप लिएर आउँछौं।
उनले निषेधित क्षेत्र संविधानभन्दा माथि नरहेको बताए। उनले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकारी प्रत्येक नागरिकलाई रहेको बताए। निषेधित क्षेत्र संविधानभन्दा माथि होइन। संविधानले पनि शान्तिपूर्वक विरोध प्रदर्शन गर्न पाउने भनेको छ। शान्तिपूर्ण भेला गर्न पाउने भनेको छ। हामीले कुनै तोडफोडमा उत्रिएका थिएनौं। कसैलाई हानी नोक्सानी गरेका थिएनौं। तर सरकारले हामीमाथि दमन गर्यो, उनले भने।
सरकारलाई बुझाएको ४० बुँदे माग सम्बोधन गर्नुपर्ने भन्दै राप्रपाले आज काठमाडौंमा जनप्रदर्शन गरेको हो। संवैधानिक राजतन्त्रका पुनस्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताका खारेजी राप्रपाको मुख्य माग रहेको छ।