म्यान्मारका विभिन्न ‘स्क्याम सेन्टर’बाट उद्धार गरिएका २० देशका २५० जनाभन्दा बढी कामदारमध्ये सात जना नेपाली नागरिक रहेको बैङ्ककस्थित नेपाली दूतावासले जनाएको छ।
थाईल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले उद्धार गरिएका नेपालीहरू सकुशल रहेको बीबीसी नेपालीलाई जानकारी दिए।
नेपाली दूतावासका अनुसार थाईल्यान्डको सीमा नजिक पर्ने म्यान्मारका एकान्त क्षेत्रहरूमा ‘स्क्याम सेन्टर’ मा काम गर्न विभिन्न देशको बाटो हुँदै नेपालीहरू पुग्ने गरेका छन्।
म्यान्मारको एउटा स्थानीय सशस्त्र विद्रोही समूहले त्यसरी पुगेका कैयौँ देशका नागरिकलाई बिहीवार मुक्त गर्दै थाई सेनाको जिम्मा लगाएको थियो।
मुक्त हुनेहरूमा नेपालसहित भारत, बाङ्ग्लादेश, श्रीलङ्का पाकिस्तान सहित दक्षिण एशियाली देश र अफ्रिकी देशका नागरिक छन्। तीमध्ये २२१ पुरुष र ३९ महिला रहेको बताइएको छ।
नेपाली दूतावासले परिवार, आफन्त र साथीहरूले उद्धारका लागि दिएको जानकारीका आधारमा १३ जनाको उद्धार गरिदिन थाई सरकारलाई आग्रह गरेको थियो।
“हामीले दिएको सूचिमा भए जति सबै जना भेटाइसकिएको छैन,” राजदूत वलीले भने।
“स्क्यामिङमा जानेहरू कुन बाटो र माध्यमबाट जानुहुन्छ भन्ने थाहा नहुने भएकाले त्यहाँ रहेका १३ जना भन्दा बढी पनि हुनसक्छ वा त्यसमध्ये कोही अन्यत्रै हिँडेको पनि हुनसक्छ।”
नेपाली कसरी पुग्छन् म्यान्मार
यसअघि बीबीसीको सम्पर्कमा आएका म्यान्मारको ‘स्क्याम सेन्टर’ बाट फर्किएका एक जना नेपालीले आफू साथीमार्फत उक्त स्थानमा पुगेको बताएका थिए।
कैयौँ नेपालीहरूको उद्धारका लागि समन्वय गरेको बताउने गैर आवासीय नेपाली सङ्घको थाईल्यान्ड समन्वय समिति अध्यक्ष झविन्द्र बस्नेतले उद्धार भएका धेरैजसो नेपालीहरूले आफ्नै चिनजानका मानिसबाट त्यहाँ पुगेको बताउने गरेका छन्।
“राम्रो तलब पाइन्छ भनेर आफ्नै मान्छेले त्यहाँ पुर्याइरहेको छ,” बस्नेत भन्छन्।
“उनीहरूले भनेको लक्ष्य हासिल गर्न नसके यातना दिने गरेको पनि पाइएको छ।”
बस्नेतका अनुसार थाईल्यान्ड जस्तै लाओस र कम्बोडियामा पनि नेपालीहरू ‘स्क्याम सेन्टर’ मा पुग्ने गरेका छन्।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख दिपेन्द्र घर्ती क्षेत्रीका अनुसार धेरैजसो नेपालीहरू पर्यटक भिसामा थाईल्यान्ड पुगेर त्यहाँबाट म्यान्मार पुग्ने गरेका छन्।
“थाईल्यान्ड घुम्न पुगेर त्यहाँबाट म्यान्मार जाने गरेको नै धेरैजसो देखिन्छ। तर पीडित आफैँ आएर यहाँ उजुरी गर्ने र जानकारी नदिने गरेका कारण पनि थप कुराहरू खुल्दैन,” उनी भन्छन्।
रोकिएन ठगिने क्रम
नेपाली राजदूत वलीले गतवर्ष मात्रै १०० जना भन्दा धेरै नेपालीलाई म्यान्मार सहित लाओस र क्याम्बोडियाका ‘स्क्याम सेन्टर’ बाट उद्धार गरिएको जानकारी दिए।
“धेरै परिवारलाई आफ्नो छोराछोरी त्यहाँ पुग्नुभएको छ भन्ने थाहा पनि नहुन सक्छ। विभिन्न ठाउँबाट कुन माध्यमबाट त्यहाँ पुग्छन् घर परिवारलाई पनि थाहा नहुने अवस्था हुने रहेछ,” राजदूत वली भन्छन्।
हरेक पटक म्यान्मारबाट उद्धार गरेर मुक्त गरिएकाहरूमा नेपालीहरू पनि पर्ने गरेको दूतावासले जनाएको छ।
“मान्छेहरू अनेक प्रलोभनमा परेर त्यहाँ आउँछन्। हामीले सोध्दा कतिपयले थाहा नभएर पुगियो भन्छन् कतिपयले थाहा थियो पैसा हुन्छ भनेर आएको भन्छन्,” वली सुनाउँछन्।
कैयौँ नेपालीहरू म्यान्मारका ‘स्क्याम सेन्टर’ मा पुगेर फर्किएका खबरहरू आइरहँदा पनि नेपालीहरू निरन्तर जाने प्रक्रिया नरोकिएकोमा राजदूत वलीले चिन्ता व्यक्त गरे।
“हामीले गतवर्ष नै त्यहाँबाट उद्धार गरिसक्यौँ ठानेका थियौँ। तर अहिले फेरी ठूलो सङ्ख्या छ भन्ने आइरहेको छ,” पण्डित भन्छन्।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख कम्युटरको ज्ञान भएका र पढेलेखेकै मानिसहरू धेरैजसो ठगीमा पर्ने गरेको बताउँछन्।
“कम्युटर सम्बन्धी ज्ञान भएको मानिसहरू नै उनीहरूले लिएर गइरहेको देखिन्छ। हामीकहाँ रोजगारीको समस्या भएका कारण पनि विदेशमा राम्रो तलव पाइन्छ भनेर गइरहेको देखिन्छ,” मानव बेचबिखन ब्यूरो प्रमुख क्षेत्री भन्छन्।
नेपाल फर्काउने प्रक्रिया के हुन्छ?
थाईल्यान्डमा ल्याइपुर्याइएका नेपालीहरूलाई स्वदेश फर्काउन अझै केही साता लाग्ने बैङ्कक स्थित नेपाली दूतावासले जनाएको छ।
राजदूत वलीका अनुसार थाईल्यान्डमा अनुसन्धान र नेपाल फर्कने कानुनी प्रक्रिया पूरा गरेपछि उनीहरूलाई स्वदेश फर्कने व्यवस्था मिलाइन्छ।
“त्यसमध्ये कति तस्करीमै संलग्न भएका पनि हुन सक्छन् कति तस्करीमा परेका पनि हुन सक्छन् त्यसको पनि यहाँ अनुसन्धान हुन्छ र कतिपय कागजात नभएका पनि हुन सक्छन् नभएकालाई हामी कागजात बनाइदिन्छौँ,” उनले भने।
गैर आवासीय नेपाली सङ्घको थाईल्यान्ड समन्वय समितिका प्रमुख बस्नेत उद्धार भएका नेपालीहरूलाई थाईल्यान्डको अध्यागमनले केही समय राखेर नेपाल फर्काइदिने गरेको बताउँछन्।
“कतिपय मानिसहरू भारत हुँदै गएका हुन्छन् र कतिपय थाईल्यान्डबाटै जान्छन्, थाईल्यान्डको भिसा पनि नभएकाहरूलाई थप प्रक्रियाका लागि त्यहाँको एउटा निकायमा पठाइन्छ,” उनले भने।