सुर्खेत । सुर्खेतमा एक महिला मन्दिर परिसरमै मृत भेटिएकी छिन् । जिल्लाको वीरेन्द्रनगरमा रहेको गंगामाला देउती मन्दिरमा आज बिहान ५० वर्षीया सरस्वती राजी मृत फेला परेकी हुन् । प्रहरीका अनुसार ती महिला सोही मन्दिरका पुजारी रुद्रबहादुर राजीकी पत्नी हुन् ।
उनी मन्दिरको मुल ढोकाको भित्रपट्टि रहेको फलामको हत्कडीमा झुण्डिएको अवस्थामा आज (बुधवार) बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
‘म बिहान साढे ५ बजेदेखि घटनास्थलमै छु । हामीलाई घटनाको जानकारी बिहान ५ बजेतिर आएको थियो । घटनाको प्रकृति हेर्दा कुनै शंकास्पद देखिएको छैन् । तर मादक पदार्थ सेवन बढी नै गरे जस्तो देखिएको छ।,’ उपरीक्षक खड्काले भने, ‘बाँकी अनुसन्धान हुँदैछ । अनुसन्धानबाट घटनाको बारेमा थप जानकारी आउला ।’
उनकाअनुसार प्रहरीले शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालको शव गृहमा पठाउने तयारी गरेको छ । प्रहरी उपरीक्षक खड्काका अनुसार सरस्वती मन्दिरको पुजारीसमेत रहेको खुलेको छ । पुजारी नै मृत अवस्थामा भेटिएपछि आज बिहानैदेखि देउती बज्यै मन्दिर दर्शनको कार्य अस्थायी रूपमा रोकिएको छ ।