काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट उम्मेदवार भई विभिन्न तहमा जनप्रतिनिधि भएकाहरूको काम प्रभावकारी बनाउने संयन्त्र बनाउने तयारी गरेको छ।
वडाध्यक्षदेखि मन्त्रीसम्मका काम प्रभावकारी बनाउन संयन्त्र बनाउन लागिएको हो। अब बस्ने केन्द्रीय समिति बैठकबाट केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर चार महिनाका लागि खटाउने तयारी छ। भदौ ७ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्दै छ। यो बैठक साउन २३ देखि २८ गतेसम्म चलेको बैठककै निरन्तरता हो।
केन्द्रीय सदस्यहरूले आफूलाई खटाइएको जिल्लाका प्रत्येक तहमा छलफल चलाएर संयन्त्र गठन गर्नेछन्। महामन्त्री गगन थापाले पार्टीबाट टिकट पाएर निर्वाचित जनप्रतिनिधि र पार्टीबीच समन्वय गरी काम गर्न र कामकारबाही प्रभावकारी बनाउन प्रत्येक तहमा संयन्त्र गठन गर्न लागिएको जानकारी दिए।
‘केन्द्रीय सदस्यहरू चार महिनाका लागि खटिएर जिल्ला-जिल्लामा आउनु हुनेछ,’ महामन्त्री थापाले भने, ‘केन्द्रीय सदस्यले प्रत्येक तहमा बैठक र सम्मेलन गराउनु हुन्छ। र प्रत्येक तहमा एउटा संयन्त्र बनाउनु हुन्छ। त्यो संयन्त्रमा निर्वाचित वडाध्यक्ष, मेयर बस्नुहुन्छ, पार्टी सभापति, शिक्षक तथा प्राध्यापकजस्ता बौद्धिक साथीहरू पनि बस्नुहुन्छ।’ संयन्त्रले जनप्रतिनिधि र पार्टीबीच समन्वय गर्नेछ।
‘जनप्रतिनिधिको दुस्ख पनि पार्टीका साथीहरूलाई संयन्त्रमार्फत् बताइनेछ, पार्टीका साथीहरूको कुरा पनि जनप्रतिनिधिलाई जानकारी हुन्छ, सँगै बसेर काम गर्नुहुन्छ। हाम्रा काम गर्ने तरिका अलिकति बदल्नुपर्ने भएको छ,’ थापाले भने, ‘संघ, प्रदेश र स्थानीय तहमा हामी यसैगरी काम गर्छौं।’ उनले जनप्रतिनिधिले कामसँगै प्रचार पनि गर्नुपर्ने बताए।
महामन्त्री थापाका अनुसार गत शनिबार संघीय सरकारमा सहभागी १० मन्त्री र २ राज्यमन्त्रीसँग सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरूले छलफल पनि गरेका थिए। ‘मन्त्रीहरूसँग कम्तीमा महिनामा एक पटक छलफल गर्छौं, यस्तै छलफल प्रदेश र स्थानीय तहमा पनि पार्टीले चलाउनुपर्छ,’ उनले भने।