कोशी । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा आएको बाढीले केही घर बगाएको छ ।
हिम ताल फुटेर बाढी आएको आशंका गरिए पनि यकिन भइसकेको छैन । दूधकोशी नदीमा आएको बाढीले ४ वटा घर र एउटा होटल बगाएको प्रहरीले जनाएको छ । थामेमा ४० घरको बस्ती भएपनि अहिले सबै घरमा परिवार नरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक रोशन खड्काले अहिलेसम्म मानवीय क्षतीको विवरण नआएको बताए । घटनास्थलमा प्रहरी पुगेको र क्षति विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुका प्रमुख प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले थामे गाँउमा ठूलो बाढी आएको बताए । उनले भने, ‘अहिले भर्खरै प्रहरीको टोली पुगेको छ । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।’
बाढी के कारण आयो भन्ने अहिलेसम्म पुष्टि भइनसकेको उनको भनाइ छ ।