काठमाडौं । चलचित्र क्षेत्रको नियामक संस्था चलचित्र विकास बोर्डको अध्यक्षका लागि ६ जनाले आवेदन दिएका छन् । हिजो आवेदन दिने अन्तिम म्याद थियो ।
पहिलो आवेदन एमाले निकट चलचित्रकर्मी तथा सञ्चारकर्मी दिनेश डिसीले दिएका थिए । त्यसयता थप ५ जनाको आवेदन गरेको हो । अन्य आकाङ्क्षीहरूमा करिश्मा मानन्धर, राजेश थापा, प्रकाश भट्टराई दीपा बस्नेत र अर्जुन कुमार डंगोल रहेका छन् । चर्चित अभिनेत्री करिश्मा मानन्धर सत्तारुढ दल एमालेको सांस्कृतिक विभागको सदस्य छिन् । राजेश थापा सांस्कृतिक संस्थानका पूर्वमहानिर्देशक हुन् ।
उनी एक पटक बोर्ड सदस्य पनि भएका थिए । यस्तै, प्रकाश भट्टराई र अर्जुन कुमार डंगोल पनि दयाराम दाहालको पालाका बोर्ड सदस्य हुन् । भट्टराई पूर्व माओवादी हुन् । एमाले र माओवादी एकीकरण हुँदा उनी बादलको समूहबाट आएका थिए । उनले एउटा चलचित्र निर्देशन पनि गरेका छन् । डंगोलले द युगदेखि युगसम्म, चपली हाइट लगायत केही चलचित्रको निर्माण गरेका छन् । दीपा बस्नेत पनि एमालेप्रति आस्थावान् चलचित्र निर्देशक हुन् ।
सञ्चार मन्त्रालयले विज्ञ टोलीको सल्लाहमा औपचारिक प्रक्रिया अनुसार ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्छ । उनीहरूमध्ये एक जनलाई मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्नेछ । कानूनी औपचारिकता पुर्याउन आवेदन माग गरिएको भए पनि बोर्ड अध्यक्षको टुंगो भने बालुवाटारले नै लगाउने गरेको छ ।
बालुवाटार स्रोतका अनुसार आवेदन दिएका ६ जनामध्ये कार्यदक्षता र अनुभवका आधारमा दिनेश डिसीको सम्भावना बलियो देखिएको छ । लामो समयदेखि चलचित्र तथा सञ्चार क्षेत्रमा सक्रिय रहेका उनी एमालेनिकट जन पक्षीय चलचित्रकर्मी संघको अध्यक्ष तथा जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य हुन् । उनी चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुन् । उनले आधा दर्जन चलचित्रको निर्देशन र ५० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।
डीसीले बोर्ड अध्यक्षका लागि ६९ बुँदे कार्य योजनासहित पहिलो दरखास्त हालेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीबाटै ग्रिन सिग्नल पाएपछि उनले आवेदन दिएका हुन् । उनी ओलीका एक विश्वासपात्रका रूपमा पनि चिनिन्छन् । डीसी निश्चितप्रायस् देखिएपछि यसअघि बलिया आकांक्षी मानिएका हल व्यवसायी नरेन्द्र महर्जन ब्याक भएका छन् । उनले आवेदन नै गरेनन् ।