काठमाडौं । सहकारीमा डुबेको बचत फिर्ताको सुनिश्चितता नभएको र बचत अपचलन गर्नेहरूमाथि सरकारले अनुसन्धान नगरेको भन्दै बुटवलको सुप्रिम सहकारीका बचतकर्ता फेरि आन्दोलित भएका छन् । बचतकर्ताको रकम हिनामिना गर्ने गितेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गर्न, सुप्रिमबाट संस्थागत रूपमा रकम लगिएको गोर्खा मिडिया नेटवर्क र व्यक्तिगत रूपमा रकम लग्ने रवि लामिछानेको कारोबारमाथि छानबिन गर्न माग गर्दै पीडितहरू आन्दोलनमा उत्रिएका हुन् ।
रकम फिर्ताका लागि हारगुहार गरेको एक वर्ष पुग्दा पनि सरकारबाट कुनै पहल नभएपछि फेरि आन्दोलन सुरु गर्नुपरेको सुप्रिम सहकारीपीडित संघर्ष समितिका संयोजक विजयकुमार नेपालले बताए । ‘अब हाम्रो चरणबद्ध आन्दोलन सुरु भएको छ,’ उनले भने, ‘पहिलो चरणअन्तर्गत आइतबार झन्डै ५ सय जना सहकारीपीडितहरू बस रिजर्भ गरेर लुम्बिनी प्रदेशको राजधानी देउखुरी पुगेर धर्ना दिने र ज्ञापनपत्र बुझाउने काम गरेका छौं ।’
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यसहितका मन्त्रीहरूलाई भेटेर ज्ञापनपत्र दिने गरी ५ सय पीडित गए पनि मुख्यमन्त्रीसहित सबै मन्त्रीहरू काठमाडौंमै रहेकाले भेट्न नपाएपछि धर्ना बसेका थिए । ज्ञापनपत्र भने सचिवहरूलाई बुझाएर फर्केको नेपालले बताए । ‘अबको आन्दोलन जीबी राई पक्राउ, सुप्रिमबाट झन्डै १३ करोड ४० लाख रुपैयाँ रकम लैजाने गोर्खा मिडिया नेटवर्कको लगानी र खर्चको अनुसन्धान, राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेको खर्चको स्रोत र कारोबारको छानबिन, लामिछानेका नाममा सुप्रिमबाट गएको २ करोड रकमको छानबिनको मागसहितका कार्यक्रम तय गरेका छौं,’ नेपालले भने, ‘सहकारीको करोडौं रकम गैरकानुनी रूपमा ट्रान्सफर गर्ने बैंकलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरेका छौं ।’
त्यसका लागि प्रदेशका मुख्यमन्त्री आचार्यलाई बुटवलमै भेटेर ज्ञापनपत्र बुझाउने, बुटवलमा भदौ दोस्रो सातातिर २ हजार ५ सय बढी सहकारीपीडितको प्रदर्शन गर्ने, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलाई काठमाडौंमै पुगेर भेट गर्ने कार्यक्रम तय भएको उनले बताए । ‘उहाँहरूसँगको भेटमा सहकारी ठगहरूको पक्राउ, कारबाही र पीडितलाई रकम फिर्ताको सुनिश्चितताका लागि दबाब दिनेछौं,’ नेपालले भने ।
सुप्रिम सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताबाट संकलन भएको १ अर्ब ३१ करोड रकममध्ये ८६ करोड १८ लाख २३ हजार अपचलन भएको प्रहरी अनुसन्धानले देखाएको छ । सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सचिव कुमार रम्तेल, भूपेन्द्रबाबु राई, गोर्खा मिडिया नेटवर्कसहित २८ जनाले बचत अपचलन गरेको देखिएको छ । रास्वपाका सभापति एवं तत्कालीन गोर्खा मिडिया नेटवर्कका कार्यकारी निर्देशक रवि लामिछानेले पनि सुप्रिम सहकारीबाट बैंकमार्फत रकम ट्रान्सफर गराएर २ करोड लगेको अनुसन्धानले देखाएको छ । तर, प्रहरीले लामिछानेलाई प्रतिवादी बनाएको छैन । त्यही प्रतिवेदनका आधारमा जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाएर कारबाहीको मागसहितको मुद्दा अदालत पेस भइसकेको छ । त्यसपछि कुनै अध्ययन तथा अनुसन्धान नभएको भन्दै पीडितहरूले आन्दोलनमा उत्रनुपरेको बताएका छन् ।
सहकारीको छानबिनका लागि ‘सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धमा संसदीय छानबिन विशेष समिति’ बनाए पनि अहिलेसम्म जीबी राई पक्राउ नगरेको, सुप्रिमको रकम ट्रान्सफर गर्ने गोर्खा मिडिया नेटवर्क र त्यसका निर्देशक लामिछाने माथि छानबिन अवरुद्ध भएको भन्दै पीडितले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । पीडितहरूका अनुसार संसदीय छानबिन विशेष समितिले सुप्रिम सहकारीपीडितहरूका तर्फबाट संघर्ष समितिका संयोजक नेपाल, सचिव देवीलाल भट्टराई र पीडित एवं सहकारी विज्ञ सन्तराम भट्टराईलाई काठमाडौंमै बोलाएर सोधपुछ मात्र गरेको जनाएका छन् । अन्य पीडितसँग भने समितिले सोधपुछ गरेको छैन ।
सुप्रिम सहकारीमा एकै व्यक्तिको ३ करोड रुपैयाँसम्म बचत फसेको छ । दैनिक ज्यालादारीमा काम गर्नेदेखि सडकमा सार्वजनिक शौचालय सफा गरेर आम्दानी गरेको रकम बचत गर्नेहरूसमेत सहकारीबाट ठगिएका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सहकारीका १ हजार ८ सय ३१ बचतकर्ताले सहकारीमा रकम ठग्नेहरूलाई कारबाही र आफूहरूको बचत फिर्ताको काम गर्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टले बताए ।