कोशी । विराटनगरको रानी नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने दुई जना बंगलादेशी नागरिकलाई मंगलबार दिउँसो फिर्ता पठाइएको छ।
प्रहरीका अनुसार एक पुरुष र एक जना वृद्धा महिलालाई फिर्ता पठाइएको हो। भारतको जोगवनीबाट नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशको घाना गोदागाडीका ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ वर्षीया जायदा बेगमलाई दिउँसो १२:४५ बजेतिर फिर्ता पठाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।
उनका अनुसार भारतीय नागरिकको समूहमा मिसिएर अनधिकृत रूपमा नेपाल प्रवेश गर्न खोज्दै गर्दा प्रहरीले रिजाउल र बेगमलाई फेला पारेको थियो। दुवै जनालाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट भारततर्फ नै फिर्ता पठाइएको बस्नेतले बताए।
‘प्रहरीले चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट बंगलादेशको नागरिक रहेको प्रमाणित हुने राहदानी फेला पर्यो,’ उनले भने, ‘त्यसपछि उनीहरुलाई भारततिर नै फिर्ता पठाइएको हो।’ विराटनगरको रानी नाका हुँदै बंगलादेशी नागरिक नेपाल प्रवेश गर्न खोजेको यो दोस्रो घटना हो। यसअघि नेपाल प्रवेश गर्न खोज्ने बंगलादेश टाङगाई पुराबरीका ४६ वर्षीय उत्तम सरकारलाई साउन २२ गते प्रहरीले फिर्ता पठाएको थियो।
बंगलादेशी नागरिक नेपाल प्रवेश गर्ने सम्भावनालाई मध्यरनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। नेपाल र सशस्त्र प्रहरीसमेतका सुरक्षा निकायबीच समन्वय गरेर चेकजाँच तीव्र पारी कडाइ गरिएको डीएसपी बस्नेतले बताए। उनका अनुसार जोगवनी हुँदै नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई कडाइका साथ चेकजाँच गर्ने गरिएको छ।
बंगलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनको भनाइ छ। कडाइ गर्नका लागि नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।