काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान केन्द्रले जानकारी दिएको छ।
अहिले बिहान बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आइतबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कहाँ कति पानी पर्यो?
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घन्टामा कोशी, मधेस, बागमती, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका केही विभागमा भारी वर्षा भएको छ। काठमाडौं उपत्यकाका केही स्थानमा पनि भारी वर्षा भएर बागमती, विष्णुमतीको जल सतह बढ्दो क्रममा रहेको बाढी सूचना केन्द्रले जानकारी दिएको छ।
पछिल्लो २४ घन्टामा काठमाडौंको बूढानीलकण्ठमा भारी वर्षा भएको छ। विभागका अनुसार बूढानीलकण्ठ केन्द्रमा ९६.८ मिलिमिटर वर्षा भएको छ। सिन्धुपाल्चोकको गोबरे केन्द्रमा ९३ मिलिमिटर वर्षा भएको छ। नवलपरासीको दुम्कोली केन्द्रमा १०२.८, बाराको सिमरा विमानस्थलमा १०३.६ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै कैलालीको गर्भ दरबार केन्द्रमा पनि भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा ८०.८ मिलिमिटर वर्षा भएको छ। सर्लाहीको मनुस्मारा केन्द्रमा ७८.६, सोलुखुम्बुको पकर्नास केन्द्रमा ७८, रौतहटको महेशपुर केन्द्रमा ७२.६ मिलिमिटर वर्षा भएको छ।