कर्णाली । सल्यानबाट गत आर्थिक वर्षमा तीन करोडभन्दा बढीको खोटो निकासी भएको छ । जिल्लाको विभिन्न सामुदायिक वनबाट ३ करोड १७ लाख ७० हजार रुपैयाँको खोटो निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।
कार्यालयका अनुसार गत आव ०८०/८१ मा २ हजार ५ सय ४२ मेट्रिकटन खोटो निकासी भएको छ । जसबाट विभिन्न सामुदायिक वनको खातामा २ करोड २६ लाख ९३ हजार रुपैयाँ जम्मा भएको डिभिजन वन कार्यालय सल्यानका कार्यालय प्रमुख जितेन्द्र महतले जानकारी दिए । उनका अनुसार जिल्लामा विभिन्न ६ खोटो कम्पनीले काम गर्दै आइरहेका छन् । महतोका अनुसार निकासी भएको खोटोबाट प्रदेश सञ्चित कोषमा ३८ लाख ६० हजार, समूहको खातामा २ करोड २६ लाख ९३ हजार, निकासी कर १२ लाख ७१ हजार र मूल्य अभिवृद्धि कर ३९ लाख ४६ हजार रुपैयाँ संकलन भएको छ ।
आव ०७९/८० मा सल्यानका सामुदायिक वनले २६ लाख ९८ हजार ५ सय ६८ किलो खोटोबाट २ करोड ७५ लाख २५ हजार रुपैयाँ आम्दानी गरेका थिए । वन समूहहरूले कुल आम्दानीको २५ प्रतिशत हुन आउने रकम व्यवस्थापनकै क्षेत्रमा खर्च गर्नुपर्छ । डढेलो नियन्त्रण, वृक्षरोपण, झाडी सरसफाइ, हाँगा कटानलगायतका कार्यमा लगानी गर्नुपर्ने कार्यालय प्रमुख महतले बताए ।