काठमाडौं । महिला भलिबलमा नेपालले फेरि एउटा उपाधि भिडन्त भारतसँग नै गर्नुपर्ने भएको छ । काभा वुमन्स नेसन्स लिगमा मंगलबार नेपालले इरानलाई र भारतले श्रीलंकालाई हराउँदै उपाधिका लागि आमने-सामने हुन लागेका हुन् । उपाधिका लागि नेपाल र भारत आज साँझ ५ बजे प्रतिस्पर्धा गर्ने छन ।
सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमा उपाधि गुमाएको नेपाली टिमलाई बदला लिने अवसर बुधबार छ । यही प्रतियोगितामा शनिबार लिग चरणको खेलमा भारतलाई हराएकाले नेपाली टिम आत्मविश्वासी छ । प्रतियोगितामा सहभागी सबै टिमलाई हराएको हुनाले नेपाल उच्च मनोबलमा रहेको प्रशिक्षक जगदिश भट्टले बताए ।
‘हामीले विपक्षी अनुसारको रणनीति बनाएर खेलाउन सक्यौं भने जित्न सक्छौं’, उनले भने । नेपालले लिग चरणमा भारत, माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने इरानसँग हार व्यहोरेको थियो । इरानसँग लिग चरणमा भेगेको पराजयले कमजोरी सच्याउने अवसर पाएको भट्टले बताए ।
भारतसँग यसअघि पटक पटक प्रतिस्पर्धा गरिसकेको र भारतका धेरै खेलाडीले नेपालमा लिग खेलेकाले उनीहरुबारे धेरै जानकारी रहेको उनको भनाइ छ । ‘उनीहरुको ब्लक र स्पाइक राम्रो छ । हामीले सर्भिस र डिफेन्स राम्रो गर्न सक्यौं भने खेलमा भारतलाई सोझो सेटमा हराउन सक्छौं’, भट्टले भने । मंगलबार इरानसँगको सेमिफाइनल खेलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेट २५–२१, दोस्रो सेटमा २८–२६ र तेस्रो सेट २५–२० ले जितेको थियो । मंगलबारको खेलमा स्पाइकरहरु उषा भण्डारी र निरुता ठगुन्नाले राम्रो प्रदर्शन गरेका थिए ।
‘अस्ति उषालाई पछाडिबाट खेलाएका थियौं । निरुतालाई अगाडिबाट खेलाएका थियौं । निरुता अहिलेको टिमको सबैभन्दा बढी प्राविधिक रुपमा खेल्ने खेलाडी हो । डिफेन्डिङ बल हान्न सकेको भए हामीले लिगमा पनि खेल जित्थ्यौं । तर हामीले त्यही कुरा बुझेर खेल्दा उषाले धेरै अंक जोडेको छ’, प्रशिक्षक भट्टले भने ।
इरानसँग लिग चरणमा हारेकाले मंगलबारको खेल जित्नैपर्छ भन्ने मानसिकतामा खेलेको कप्तान अरुणा शाहीले बताइन् । नेपालका लागि इरानी टिम नयाँ हो । ऊसँग नेपालले एक पटक मात्र सन् २०१७ मा प्रतिस्पर्धा गरेको थियो । ‘इरानसँग खेल्दा रेष्ट पनि पुगेको थिएन । उनीहरुको बलहरु बुझ्न सकेका थिएनौं । पहिलो पटक खेल्दा हामीले नबुझेको पोइन्टहरु पनि हामीले यो खेलमा राम्ररी विश्लेषण गरेर खेल्यौं’, अरुणाले भनिन् ।