काठमाडौं। काठमाडौंमा भएको वर्षाले लैनचौरस्थित केशरमहल क्षेत्र डुबानमा परेको छ। केशरमहलस्थित नीति अनुसन्धान प्रतिष्ठान लगायतका (राहदानी विभागको पुरानो कार्यालय) कार्यालय अगाडिको भाग जलमग्न छ ।
नारायणहिटीमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, नेपाल पञ्चाङ्ग निर्णायक समितिको कार्यालय, नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय र नेपाल प्रहरी नारायणहिटी सुरक्षा गुल्म कार्यालय रहेका छन् ।
पानीले निकास नपाउँदा सेवाग्राहीहरु, ड्युटीमा खटिएका प्रहरी र कर्मचारीहरुसमेत समस्यामा परेका छन् । सेवाग्राहीहरु हातमा जुत्ता बोकेर आउ–जाउ गर्न बाध्य छन् । कतिपयले आफन्तलाई बोकेकोसमेत देखिएको छ ।
सोमबार अपराह्नदेखि काठमाडौंमा पानी पर्न सुरु गरेको थियो । मंगलबार मध्याह्नसम्म पानी परिरहेको थियो । अहिले भने पानी पर्न रोकिएको छ । तर होचा भूभागमा जमेको पानीले निकास पाएको छैन ।
वर्षाका कारण माइतीघर, रामशाहपथ, पुतलीसडक, लैनचौर, सोल्टीमोड, स्वयम्भु लगायतका स्थान र बागमती नदी कोरिडोर क्षेत्रमा पानी जम्दा सवारी आवागमन समेत प्रभावित भएको थियो ।