काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा असर पुगेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार वर्षाका कारण विभिन्न ठाउँमा ट्राफिक जाम भइरहेका छन्। अहिले लैनचौर, केशरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, बबरमहल, बालाजु, कुपन्डोल लगायत विभिन्न ठाउँमा ट्राफिक जाम छ।
निरन्तरको वर्षाका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो। अहिले ट्राफिक व्यवस्थापन गर्न सबैजसो जनशक्ति परिचालन गरिएको एसएसपी श्रेष्ठले बताए। ठाउँठाउँका सडकमा पानी जम्दा सवारीसाधनहरू जानसक्ने अवस्था नरहेको पनि उनले बताए।
चार पांग्रे सवारीसाधनहरू पानी जमेका स्थानमा गए पनि दुई पांग्रे सवारीसाधनहरू भने जान सकिने अवस्था नरहेको उनले बताए। जान सकिने स्थान नै भए पनि साधारणत गुड्ने गति भन्दा पनि ढिला हुँदा ठाउँ ठाउँमा जाम भएको हो।
यद्यपि कुनै पनि बाटोहरू अवरूद्ध भने नभएको पनि उनले बताए। ‘धेरै ठाउँका बाटोमै पानी बगेकोरजमेको छ। सवारीसाधनहरू आफ्नो गतिमा चल्न सकेको छैन। कतिपय ठाउँमा पानी जमेका कारणले मोटरसाइकल जान सकेको छैन,’ एसएसपी श्रेष्ठले भने, ‘छेउछाउ हुँदै जानुपर्ने अवस्था छ। चार पांग्रेको पनि आफ्नो गतिमा चल्न नसकेकाले ढिलो भएको हो।’
करिडोरका सडकहरूमा पनि पानी जमेकाले धेरैले त्यसलाई छलेर जाँदा ठाउँ-ठाउँमा जाम भएको हो।