काठमाडौँ । आइसीसी टी–२० विश्वकप वार्मअपअन्तर्गत नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै छ । दोस्रो वार्मअपमा नेपालले आयोजक अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
खेल राति सवा ९ बजेबाट सुरु हुनेछ । नेपाल पहिलो वार्मअपमा क्यानडासँग ६३ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको थियो । आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेस्टइण्डिज र अमेरिकामा आयोजना हुँदै छ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् ।
कस्तो छ विश्वकपको तालिका ?
अमेरिकासँगको प्रतिस्पर्धापछि नेपालले सिधै विश्वकप खेल्नेछ । विश्वकपको पहिलो खेल डालासकै मैदानमा नेपालले नेदरल्यान्ड्ससँग जुन ४ तारिखमा खेल्दैछ ।
विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जुन १२ मा श्रीलङ्का, तेस्रो खेल जुन १५ मा दक्षिण अफ्रिका र चौथो खेल जुन १७ मा बङ्गलादेशसँग खेल्दैछ । २० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।
नेपालले १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको हो । नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो ।